२०८१ बैशाख ८ शनिबार

राजनीतिको केन्द्र बन्यो झापा, संघ र प्रदेश सरकारको चाबी झापामै केन्द्रित

झापा । सुदूरपूर्वी जिल्ला झापा राजनीतिको केन्द्र बनेको छ नै, झापाबाट निर्वाचित नेताको हातमा संघ र प्रदेश १ सरकार निर्माणको चाबी रहेको छ ।

झापाबाटै निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओली केन्द्र सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय संयन्त्रको संयोजक छन् । ओलीकै पहलमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएको छ । हाल उनै ओली सरकारको नीति तथा कार्यक्रम निर्माण मस्यौदा समितिको संयोजक पनि छन् ।

संसदको दोस्रो शक्तिको रुपमा रहेको नेकपा एमाले समानुपातिक मत परिणाममा भने पहिलो हो । एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्णयको आधारमा प्रचण्ड नेतृत्वको सरकार चल्नुपर्ने स्पष्ट छ । एक अर्थमा भन्नुपर्दा यो सरकारको चाबी ओलीसँग छ ।

यस्तै सरकारको समर्थन गर्ने महत्वपूर्ण अर्को सत्ता गठबन्धन दल हो राष्ट्रिय प्रजातन्त्र पार्टी । यो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाकै हुन् । लिङ्देनसँग संघमा १४ जना सांसद छन् । केपी शर्मा ओलीको पहलमा लिङ्देनसहितको समर्थनमा वर्तमान सरकार गठन भएको हो । सरकार निर्माण गर्न र ढाल्न निर्णायक नभए पनि राप्रपा अध्यक्ष लिङ्देन हाल सत्ता गठबन्धनमध्येको चौथो महत्वपूर्ण घटकका नेता हुन् ।

संघीय सरकारको चाबी झापामै केन्द्रित भइरहेको बेला प्रदेश १ सरकारको चाबी पनि झापामै केन्द्रित भएको छ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की आगामी प्रदेश १ सरकारका मुख्यमन्त्रीका दाबेदार हुन् । कार्की झापा क्षेत्र नम्बर ५ (२)बाट निर्वाचित सांसद हुन् । कार्कीलाई एमालेले सर्वसम्मत दलको नेता बनाइसकेको छ । प्रदेश १ को प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको एमालेका संसदीय दलका नेता कार्कीकै प्रत्यक्ष–अप्रत्यक्ष नेतृत्वमा प्रदेश १ को राजनीति निर्देशित हुने देखिन्छ । कार्की यसअघिको प्रदेशसभामा पनि सदस्य थिए भने प्रदेश १ को पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री समेत हुन् ।

प्रदेश १ को झापा जिल्ला सबैभन्दा धेरै सांसद रहेको जिल्ला पनि हो । झापामा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्ष जितेका सांसदहरुको संख्या ३१ छ ।

यस्तै समानुपातिक कोटाबाट निर्वाचित कांग्रेस प्रदेश १ का सभापति उद्धब थापा पनि झापाकै हुन् । थापा भर्खरै सम्पन्न कांग्रेस संसदीय दलको नेता बनेका छन् । राजनीतिक समीकरण फेरबदल भएमा उनी पनि मुख्यमन्त्रीको सम्भावित दाबेदार हुन् । हाल उनले प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा प्रदेशसभामा भूमिका निर्वाह गर्नेछन् ।

थापाले मोरङका केदार कार्कीलाई डबल मतान्तरले पराजित गरेर दलको नेता चयन भएका हुन् । प्रदेश १ संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेससँग २९ जना सांसद छन् । २९ सांसदलाई प्रदेशको प्रभावकारिताको विषयमा र सरकारको खबरदारीमा थापाको योजनामै अगाडि बढाइने छ ।

प्रदेशसभाको चौथो ठूलो दलको रुपमा आएको राप्रपा नेपाल संसदीय दलका नेतामा पनि झापाकै भक्तिप्रसाद सिटौला चयन भएका छन् । सिटौला झापा क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित भएका हुन् । समानुपातिक मतमा तेस्रो स्थान बनाएको राप्रपाले प्रत्यक्षतर्फ २ सांसद विजयी हुँदा समानुपातिकमा ४ जना विजयी भएका हुन् ।

झापाबाटै सांसदको ओइरो

प्रदेश १ को झापा जिल्ला सबैभन्दा धेरै सांसद रहेको जिल्ला पनि हो । झापामा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्ष जितेका सांसदहरुको संख्या ३१ छ ।

झापामा प्रतिनिधिसभामा ५ निर्वाचन क्षेत्र छ भने प्रदेशसभामा १० निर्वाचन क्षेत्र छ । निर्वाचन आयोगमा राजनीतिक पार्टीहरुले समानुपातिक तर्फको बन्दसूचीमा रहेको नाम सिफारिस गर्ने क्रममा झापाकै उम्मेदवार प्राथमिकतामा परेको थियो । झापाबाट प्रतिनिधिसभा समानुपातिकतर्फ पनि ६ जना सांसद सिफारिसमा परेका छन् भने प्रदेशसभामा समानुपातिकमा १० जना सिफारिस भएका छन् ।

झापामा समानुपातिकतर्फ प्रतिनिधिसभामा सिफारिस हुनेहरुमा नेपाली कांग्रेसबाट सरिता प्रसाई, एमालेबाट कालुराम राई, सुनिता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशीलाई सिफारिस गरेको थियो । यस्तै नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १३ सांसदमध्ये प्रदेश १ को झापाबाट इन्दिरा रानामगर र निशा डाँगीलाई सिफारिस गरेको थियो ।

यता, प्रदेशको समानुपातिकतर्फ एमाले, कांग्रेस र राप्रपाले मात्रै झापाबाट तीन–तीन जनाको नाम सिफारिस गर्दा माओवादी केन्द्रले पनि १ जना झापाबाटै सिफारिस गरेको छ ।

एमालेबाट प्रदेशसभा समानुपातिकमा झापाबाट पर्नेहरुमा कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमाल छन् । एमालेले प्रदेश १ प्रदेशसभामा १५ जना सांसद समानुपातिक तर्फबाट पाएको छ । १२ जना सांसद पाएको कांग्रेसले झापाबाट उद्धब थापा, मोहन महर्जन र लखिकुमारी गणेश सिफारिस गर्दा ४ जना समानुपातिक सांसद पाएको माओवादी केन्द्रबाट झापाकै बन्दना झाँगडलाई प्रदेशसभामा सिफारिस गरेको छ ।

यता, ४ जना समानुपातिक सांसद पाएको राप्रपाबाट प्रदेशसभामा झापाका मात्रै ३ जना परेका छन् । जसमा निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा छन् । रातोपाटीबाट

२०७९ पुष १७, आईतवार प्रकाशित 0 Minutes 213 Views

ताजा समाचार