२०८१ बैशाख २३ आईतवार

विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले स्वैच्छिक रूपमा राज्यको खर्चमा विदेश गएर उपचार गर्न नपाउने

अबदेखि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले स्वैच्छिक रूपमा राज्यको खर्चमा विदेश गएर उपचार गर्न नपाउने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि ‘विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समिति’ गठन गरेको छ । विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले नेपालमा उपचार सम्भव नभएमा मात्र विदेशमा उपचार गर्न पाउने र त्यसका लागि विशेषज्ञ समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो ।

मन्त्रालयले विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. शशी शर्मा, डा. पुकारचन्द्र श्रेष्ठ, डा. भोला रिजाल, डा. रत्नमणि गजुरेल, डा. किरण श्रेष्ठ, डा. ध्रुव गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. मनबहादुर केसी र डा. रमेश चोखानी रहेका छन । नेपालमा हुने उपचारका लागि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीका लागि वीर अस्पतालमा छुट्टै क्याबिनको व्यवस्था गरिएको छ । मंगलबारबाट सञ्चालनमा ल्याइएको भवनमा पाँच शैया रहेका छन ।

२०८० श्रावण १०, बुधबार प्रकाशित 0 Minutes 128 Views

ताजा समाचार