२०८० आश्विन १५ सोमबार

बिपीको सम्झनामा झापामा विविध कार्यक्रम

बिर्तामोड । बिपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर शनिवार झापामा वृक्षारोपण, विचार गोष्ठीलगायतका विविध कार्यक्रम सम्पन्न भएका छन् ।

नेपाली काँग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक समाजवादी सिद्धान्तका प्रतिपादक एवं साहित्यिक क्षेत्रमा समेत विशेष योगदान दिएका वी।पी।को स्मरण नेपाली काँग्रेस एवं आबद्ध भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरुले गरेका हुन् । वि।सं १९७१ भदौ २४ गते जन्मेका बिपीको २०३९ साल साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो । यसै दिवसको अवसर पारेर झापाको बिर्तामोडमा नेपाल विद्यार्थी संघले विचार गोष्ठी सम्पन्न गरेको छ ।

विचार गोष्ठीका प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले तत्कालीन अवस्थामा पूर्ण प्रजातन्त्र भएको मुलुक अमेरिका र कम्युनिस्ट शासन व्यवस्था भएको रुस दुवैको पक्षमा सिधै समर्थन नगर्ने नीति अख्तियार गर्दै भारतसहितका थुप्रै देशहरूको सहभागितामा प्रजातान्त्रिक समाजवादको नीति प्रतिपादन भएको र त्यसमा वी।पी। कोइरालाको मुख्य भूमिका रहेको चर्चा गरे ।

बिपीसँगको भेट र सान्निध्यबारे चर्चा गर्दै सीके प्रसाईँले बनाएको सुशील– विश्व निकेतन बिर्तामोडमा बस्दा तीन दिन आफू बिपीको स्वकीय सचिवजस्तै भएर बसेको र त्यस बेला बिपीबारे धेरै बुझ्ने मौका पाएको स्मरण गरे । बिपीको स्मरण शक्ति तीक्ष्ण रहेको एवं बिपीले सिकेलाई अत्यन्तै विश्वास गरेको उल्लेख गर्दै नेता शिवाकोटीले आफूले तत्कालीन शासकहरूसँग डराएर बन्द समाजभित्र सङ्गठन गर्दाका समस्या सुनाएका थिए ।

२०८४ को चुनावपछि स्वाभाविक रुपमा युवा पुस्ताको पालो आउने बताउँदै उनले राजनीतिमा लाग्ने युवाहरूलाई निष्ठा, त्याग, समर्पण र विचारप्रति प्रतिबद्ध रहन आग्रह गरे ।

कार्यक्रमका विशेष अतिथि जिल्ला उपसभापति केशवराज पाण्डेले निष्ठा, त्याग, समर्पण, सादगी जीवन व्यतीत गर्ने व्यक्ति बिपीको सच्चा अनुयायी हुने बताउँदै अहिले शान, सौकत, आलिसान भवन, गाडी, २०–२५ जना अघिपछि लाग्ने कार्यकर्ता खोजेर बिपीको अनुयायी हुन नसकिने धारणा राखे । विचार, दृष्टिकोण, परिष्कृत समाज स्थापनाका लागि बिपीको विचारले सबैलाई एकै ठाउँमा उभ्याएको चर्चा गर्दै उनले बिपीको अनुयायी हुन जीवनशैली परिवर्तन जरुरी रहेको धारणा पनि राखे ।

कार्यक्रमका विशेष अतिथि नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जनताका प्रतिनिधिले शासन गर्ने व्यवस्था स्थापनाका लागि कांग्रेसले तत्कालीन शासकहरूसँग युद्धको नियम पूरा गरेर मात्रै सशस्त्र विद्रोह गरेको उल्लेख गर्दै कांग्रेसले कहिल्यै व्यक्ति हत्या नगरेको दाबी गरे ।

कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेतीलगायतले मन्तव्य राखेका थिए । नेविसंघ झापा सभापति सञ्जय निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जितेन साम्पाङ एवं सञ्चालन गोकुल पौडेल र एलेक्स मैनालीले गरेका थिए । त्यस्तै नेपाली काँग्रेस दमक नगर समितिले रक्तदान र बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ भने नेपाल विद्यार्थी संघ दमक नगर समितिले दमकको गणतन्त्र चोकमा दीप प्रज्वलन गरेको छ ।

बिपी अध्ययन प्रतिष्ठान गौरादह र नेपाली काँग्रेस गौरादहको संयुक्त आयोजनामा गौरादहमा विचार गोष्ठी सम्पन्न भएको छ भने सबै वडाहरूमा बृक्षरोपण गरिएको बताइएको छ । नेपाली काँग्रेस कमल गाउँ समितिले बिपी स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको छ । यता मेचीनगर समितिले धुलाबारीमा बृक्षरोपण सम्पन्न गरेको छ ।

२०८० श्रावण ६, शनिबार प्रकाशित 0 Minutes 221 Views

ताजा समाचार