२०८१ आश्विन ४ शुक्रबार

सेवाग्राही प्रसाईंले कानुनी उपचार खोज्ने

मेचीनगर, २ साउन । वडाका कर्मचारीसँग भएको विवादलाई जोडेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै मेचीनगर-१० धुलाबारी निवासी मिलनराज प्रसाईले कानूनसम्म पुग्ने बताएका छन् ।

वडाका कर्मचारीसँग भएको विवादलाई जोडेर एक पक्षीय लेखिएको कागजमा दबाबमुलक ढंगले हस्ताक्षर गर्न लगाएको र उक्त हस्ताक्षरित कागज सामाजिक सञ्जालमा हालेर चरित्र हत्या गर्न खोजिएको भन्दै उनले कानुनी उपचार खोज्ने बताएका हुन् ।

गत असार २६ गते आफ्नी छोरी कमलाक्षी प्रसाईंको नागरिकता बनाउनका लागि आवश्यक कागजात लिन उनी वडा कार्यालय पुगेका थिए । उनकी छोरी शारीरिक रुपमा अशक्त छिन् । जसका कारण उनी वडा कार्यालयसम्म आउन सकिनन् । वडाले दिने कागजातमा छोरी स्वयम्कै दायाँबायाँको सही आवश्यक पर्ने भएकाले वडाध्यक्षको सल्लाहमा नागरिकताको ढड्डा वडाकै कर्मचारीको सहयोगमा उनले घरमा लगेका थिए ।

घरमा नानीले दायाँबायाँको सही गरेसँगै उनी उक्त ढड्डा लिएर वडा कार्यालय आए । वडाध्यक्षको सहीछाप गराइसकेर दर्ता चलानी, छापका लागि उक्त कागजात कर्मचारी रोहितप्रसाद लुइँटेलको कार्यकक्षमा आइपुग्यो । त्यसक्रममा कर्मचारी लुइँटेलले ‘तपाईंले यो ढड्डा घर किन लग्नुभएको’ भनी प्रश्न गरे ।

‘विवाद यहाँबाट शुरु भयो, मैले नानी अशक्त छिन्, आउन सक्तिनन् भनेर भन्दा पनि उहाँले चलानी दिन मान्नुभएन,’ मंगलबार पत्रकार सम्मेलन गर्दै सेवाग्राही प्रसाईंले भने, ‘त्यसक्रममा कर्मचारी लुइँटेल र म बीचमा भनाभन भएकै हो, तर त्यस विषयलाई अतिरञ्जित गर्दै मेरो चरित्र हत्या गर्न खोजियो ।’

उनले बैठकमा भएको मान्युटको निणर्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनु गलत भएको दाबी गरे । प्रसाईंले कर्मचारीको प्रवृत्ति विरुद्ध आफू उभिएको बताए । ‘सेवा प्रवाहका विषयमा मैले आवाज उठाएको हुँ,’ उनले भने, ‘सचेत नागरिकको त यो हालत छ अरुको के कुरा गर्नु ?’
मेचीनगर नगरपालिकाको सेवा प्रवाहका विषयमा नागरिकहरुले आवाज उठाउँदै आएका छन् । केही दिनअघि मेचीनगर कार्यालयको कार्यकक्षमै एक कर्मचारीमाथि हातपात भएको थियो ।

२०८० श्रावण २, मंगलवार प्रकाशित 1 Minute 699 Views

ताजा समाचार