२०८१ जेष्ठ ९ बुधबार

झापामा दुई बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

झापा । झापाको छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले तीन जना आरोपीलाई पक्राउ गरेको छ ।

प्रहरीले १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–१ बस्ने ५९ वर्षीय नरेश रसाइलीलाई पक्राउ गरेको छ । साइँलीले ती बालिकालाई बुवा आमा धान रोप्न गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–६ बुट्टावारि बस्ने १४/१४ वर्षका दुई जना किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित चिया बगानमा बोलाई ती बालिकालाई आइतबार राति दुवै जनाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै घटनाको बारेमा झापा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

२०८० श्रावण २, मंगलवार प्रकाशित 0 Minutes 395 Views

ताजा समाचार