कनकाई, ३१ असार । सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानलाई सफल बनाउन झापाको कनकाई नगरपालिकामा आज सतेचनामूलक र्याली निकालिएको छ ।
नगरपालिकाले चुरोट, खैनी, गुट्खा लगायतका सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा रोक लगाउने अभियान शुरु गर्न लागेको पूर्वसन्ध्यामा आज सचेतनामूलक र्याली निकालिएको हो । साउन १ अर्थात भोलि (सोमबार) देखि कनकाईको सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण एवम् प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
नगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोग गर्नेहरूलाई जरिवाना समेत तोकेको छ । नगरपालिकाले केही दिनदेखि गरेको सूचना र आज गरेको सचेतना कार्यक्रम मार्फत जरिवाना तोकिएको जानकारी गराएको हो । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्री वितरणकर्तालाई अधिकतम रू ५० हजार जरिवाना गरिने उप प्रमुख आशाशर्मा शिवाकोटीले जानकारी दिनुभयो । प्रयोगकर्ताको हकमा भने अधिकतम रू पाँच हजार जरिवाना तोकिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनुभयो ।
सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो । सरकारको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा राज्य तथा सरकारी निकाय, संस्था तथा कार्यालय, शिक्षण, तालीम केन्द्र, स्वास्थ्य केन्द्रहरू, पुस्तकालय, बाल उद्यान, सार्वजनिक शौचालय, उद्योग तथा कारखाना, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास अतिथि गृह, रङ्गशाला, कभर्डहल, व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, स्टोर, मिनी मार्केट, धर्मशाला, धार्मिक स्थल, सार्वजनिक सवारी, प्रतीक्षालय, टिकट काउन्टर लगायतका क्षेत्रलाई सार्वजनिक स्थल तोकेको छ ।