२०८१ आश्विन २८ सोमबार

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष– खहरेबाट बिजुली निकाल्न सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरूप्रति कटाक्ष गरेका छन् । पुरानाका दिन गए भन्दै उदाएका नयाँ पार्टीहरूले धर्ती, देश, धर्मशास्त्र, संस्कृति सबै पुराना हुन् भनेर बिर्सन नहुनेमा उनले जोड दिए ।

उनले पुरानो नाता सम्बन्धलाई तोडेर नयाँका नाममा खहरेबाट बिजुली निकाल्न नसकिने टिप्पणी गरे । निरन्तर बगिरहेका नदीहरूबाट नै विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने नबिर्सिन उनले नयाँ राजनीतिक दललाई आग्रह गरे ।

महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको उल्लेख गरे । आउँदो साउन २ गते बस्ने बैठकबाट नीति अधिवेशनको मिति घोषणा गरिने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई नवीन बनाउने क्रम सुरु हुने उनको भनाइ छ ।

“नेपाली कांग्रेस पार्टी आज अझै बलियो बन्नुपर्नेछ । नेपाली कांग्रेस पार्टी विगतमा भन्दा अझै परिपक्व, अझै संयमित र अझै एकताबद्ध बन्नुपर्ने बेला छ । त्यसैले सबै साथीहरूलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु । नेपाली कांग्रेसको साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्छ । राष्ट्रव्यापी रूपमा अभियान घोषणा गर्छ । विभाग गठनको प्रक्रिया सुरु गर्छ, त्यो पुरानो दललाई तरोतजकी बनाएर नवीन बनाउने क्रम सुरु गर्छ,” उनले भने, “कतिले भन्दै गर्दा अब पुराना दलका दिन गए, अब नयाँ आए भन्दै गर्दा तिनीहरूले बिर्सिएका छन्, यो धर्ती पनि पुरानो हो । हाम्रा धर्मशास्त्र, संस्कृतिहरू पनि पुराना हुन् । यो देश आफैँमा पनि पुरानो हो । पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँनयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन । हामीले बिर्सिनु हुँदैन, निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्न सक्छ भन्ने कुरा हामीले बिर्सिनु हुँदैन ।”

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजविरुद्धको विधेयकमाथि चुनौती आउन लागेको भन्ने कुरा राखेको भन्दै उनले मन्त्रीहरूबाट यस्तो जवाफ सुन्न नचाहेको बताए । सबैखालका चुनौतीलाई चिरेर मिटरब्याजको विधेयक संसद्मा ल्याउनुपर्नेमा उनले जोड दिए ।

२०८० असार ३०, शनिबार प्रकाशित 0 Minutes 205 Views

ताजा समाचार