
२९ असार, मेचीनगर । शुक्रबार मेचीनगरको काँकरभिट्टामा रहेको भानु साहित्यिक प्रतिष्ठानले २१० औँ भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मेचीनगरका चारजना स्रष्टालाई सम्मानित गरेको छ ।
खेलकुद क्षेत्रमा अब्बल काँकरभिट्टा निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान क्षेत्रीले खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद रु. २१ हजार राशिसहित सम्मान पत्र प्रदान गरिएको थियो । सञ्चार क्षेत्रमा कलम चलाउने महिला सञ्चारकर्मी भुमिका लिम्बुलाई नगद रु. ११ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिष्ठान अन्तरगत रहेको हेमराज-मेदनी खरेल पुरस्कारबाट साहित्यतर्फकी साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई र कृष्ण-पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट कला र संस्कृतिको प्रवद्र्धनतर्फ पञ्चेबाजा तथा संगीनी नाचमा संस्थाका रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर-६ लाई पुरस्कारसहित सम्मान गरिएको प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेलले बताए । लक्ष्मी अच्युत ढुंगानालाई साहित्यमा पुर्याएको योगदानको कदर गर्दै साहित्य पुरस्कारबाट सम्मान गरिएको हो ।
सबै पुरस्कृत व्यक्तित्वहरुलाई जनही रु.११ हजार दरले पुरस्कृतसहित सम्मान गरिएको थियो ।
काँकरभिट्टास्थित भानुभक्तको पूणर्कदको शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको उद्घाटन रामायण वाचन गरेर गरियो ।
सम्मानित एवम् पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डिल्लीराज नेपाल, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलगयातले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।
प्रतिष्ठानका कार्याबाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिल्लीराज नेपाल, विशिष्टहरु अतिथि मेचीनगर नगरउपप्रमुख मीना उप्रेती, संविधानसभा सदस्य रविन कोइरालालगायतले बोलेका थिए । उनीहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । आदिकवि आचार्य नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कवि भएको भन्दैं उनीहरुले बाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात रहेको चर्चासमेत गरेका थिए ।
कार्यक्रम स्थल काँकरभिट्टा खानोपानी उपभोक्ता तथा सरसफाई समितिको सभाहलमा संगिनीसहित विविध नृत्य प्रस्तुत गरिएको थियो । प्रतिोगितात्मक रामायण वाचन तथा कवि गोष्ठीमा थुप्रैले आ आफ्नो पाठ प्रस्तुत गरेका थिए ।
महासचिव सुशील आचार्यले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेलले स्वागत गरेका थिए ।