२०८० आश्विन १० बुधबार

ट्राफिक सप्ताह,‘लागूपदार्थ सेवन गरेर सवारी साधान कुदाउँदा दुर्घटना बढ्यो: डीआईजी बाँस्तोला

मेचीनगर, २५ असार । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेशनाथ बाँस्तोलाले सरकारले बनाएको ट्राफिक नियम पालना गरे कहिलै दुर्घटना नहुने बताएका छन् ।

आइतबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजित लागूपदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच-डे को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ४० किलोमिटरको स्पीडमा सवारी साधान चलाए दुर्घटना नहुने बताए ।

‘४० किलोमिटरको स्पीड नकुदाएर, १०० को स्पीडमा गाडी कुदाए स्वाभाविक रुपमा दुर्घटना निम्तीने छ’, डीआईजी बाँस्तोलाले भने-‘लागूपदार्थ सेवन गरेर ट्रिपर वा अन्य सवारी साधान कुदाउँदा दुर्घटना बढ्यो ।’

‘लागूपदार्थको प्रयोगले देश अक्रान्त बनेको छ’, उनले भने-‘धेरै युवाहरु कुलतमा फसेका छन् । यसलाई रोक्न प्रहरीले मात्र सम्भव छैन । यसलाई नियन्त्रण गर्न तीन तहकै सरकार लाग्नुपर्छ । लागूऔषधमा फसेकाका घरपरिवारका सदस्य र समाजले पनि साथ दिए, रोक्न सकिन्छ ।’

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय इटहरीका संयोजक एवम् ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी श्यामकुमार महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको सहकार्यका रुपमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला ट्राफिक कार्यालय झापा रहेको छ ।

एसपी महतोले ट्राफिक सप्ताह कार्यक्रम अन्तरगत लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरुको किटको माध्यामबाट चेकजाँच गर्न थालिएको बताए ।

प्रदेशको १४ जिल्लाको २० ठाउँमा आइतबार एकै समयमा भएको कार्यक्रममा ५१ जना सवारी चालकलाई चेकजाँच गर्दा १८ जनाले लागूपदार्थ सेवन गरेको पाइएको उनको भनाई छ ।

लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेर तिब्र गतिमा गाडी चलाउनु नै दुर्घटनाको मुख्य कारण रहेको उनले बताए ।

प्रदेशमा चालु आर्थिक वर्षमा २ लाख ९० हजार सवारी चालकलाई कारवाही गर्दा १९ करोड ४० लाख राजश्व संकलन भएको एसपी महतोले बताए ।

कार्यक्रममा मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णु श्रेष्ठ, लागूऔषध प्रयोगकर्ता नियन्त्रण अभियानका समाजसेवी सन्दिप थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले गरेका थिए ।

२०८० असार २५, सोमबार प्रकाशित 1 Minute 206 Views

ताजा समाचार