२०८१ बैशाख १ शनिबार

बजारमा नेपाली आँपकै एकछत्र राज

सबैभन्दा बढी माग र बिक्री हुने आँप मालदह हो । यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा बिक्री भइरहेको छ । दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत बिक्री भइरहेको छ ।

२१ असार, काठमाडौँ ।  फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ ।

अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप बिक्री भएको छ ।

गत साल यही समयमा आँपको थोक मूल्य ८० देखि ९० रहेको थियो । आजको मितिमा भने आँपको मूल्य थोकमै ६० माथि पुगिसकेकोछ ।

जात अनुसार केही आँप अलि महँगो र केही आँप अली सस्तोमा बिक्री हुन्छ । सबैभन्दा बढी माग र बिक्री हुने आँप मालदह हो । यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा बिक्री भइरहेको छ । दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत बिक्री भइरहेको छ ।

उत्पादनको मुख्य समयमा त्यसबेला कुलेश्वरबाट दैनिक १०० टन र अझै त्यो भन्दा माथि पनि आँप गएको थियो । अहिले ५० टनको हाराहारीमा आँप काठमाडौँ उपत्यकामा गइरहेको छ । विस्तारै यो घट्दो क्रममा छ भने मूल्य बढ्न थालेको छ । ‘यसपालि बजारमा धेरै आँप आयो, त्यसैले आँप सस्तिएको हो’, बाँनियाले भने, ‘पछिल्लो दशक होइन २०/२५ वर्षको मेरो यो व्यापारकै अनुभवमा यसपालि आँप सबैभन्दा सस्तो भएको छ, नेपाली आँप उत्पादन पनि राम्रो भयो ।’ उनले मण्डीबाट रु ३० करोड बराबरको आँप बिक्री हुने अनुमान गरे । नेपालमा व्यापारीहरुले फरकफरक ठाउँमा आँप पठाउने भएकाले एकीकृत कारोबार र वार्षिक कारोबार कति भनेर यकिन गर्न नसकिने बाँनिया बताउँछन् ।

कृषि विभागका अनुसार पनि यसपालि आँपको उत्पादन बढेको छ । विभागका सूचना अधिकारी, वरिष्ठ कृषि अर्थविज्ञ सुनिलकुमार सिंह यसपटक आँप उत्पादनको सिजन पनि भएकाले उत्पादन बढेको बताए । उनका अनुसार उत्पादन क्रमश बढ्दो क्रममा रहेको देखिन्छ ।

आव २०७७/७८ मा ४३ हजार ६८९ हेक्टरमा आँप उत्पादन भएको थियो । त्यहाँबाट  चार लाख ६६ हजार २६७ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७८÷७९ मा भने ३९ हजार ५७९ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको तथ्यांक छ । यो वर्ष झन् राम्रो उत्पादन भएको छ । उत्पादकत्व पनि प्रतिहेक्टर १०.६७ बाट बढेर १२.६१ मेट्रिक टनले बढेको छ ।

नेपालको कुनै पनि फलफूल अन्य देशको तुलनामा गुणस्तरको रहेको बताए । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार आँप कै कुरा गर्ने हो भने नेपाली आँप हेर्दा पनि राम्रो, र स्वादिलो भएकाले यो समयमा अरु कुनै फलफूलले स्थान नै पाउँदैन । माग पनि नेपाली आँपकै हुन्छ । नेपाली आँप भएसम्म विदेशी आँपले बजार पाउँदैन, त्यसैले नेपालमा उत्पादन सकिएपछि मात्रै बाह्य आँप आउँछ ।

बेमौसममा पनि यसैगरी आँप निकाल्न सकियो भने र व्यावसायिक रुपमा अघि बढाउन सकियो भने नेपाली उत्पादनले बजार लिनेमा उनी ढुक्क छन् । तर बिडम्बना बाहिरबाट अन्य फुलफूल आइसक्दा पनि नेपालका जिल्लाहरुमा उत्पादन भएका फलुफूल काठमाडौँ आउनै सक्दैन । आएको पनि बिग्रिसकेको, पाकिसकेको अवस्थामा आइपुग्छ, जसले बजार पाउँदैन । त्यसकारण सरकारले बजार, प्याकेजिङ, ग्रेडिङमा ध्यान दिनुपर्ने व्यवसायीहरुको सुझाव छ । उनले भने, ‘महाराष्ट्रको केरा पाँच दिनमा ल्याउँदा पनि यहाँ केही नहुने र हाम्रो कैलालीको केरा ल्याउँदा ग्यास भरिसक्ने किन त ? भनेको प्याकेजिङ र ग्रेडिङको समस्या हो ।’

आँपको मुख्यमा भने खास एक रुपता हुँदैन । बढी पाकेको आँप सस्तोमा बिक्री हुन्छ भने कम पाकेको आँप राम्रो देखिने महँगोमा बिक्री हुँदै आएको छ । व्यापारीहरुल ले बगान नै किन्ने गरेकाले पनि किसानले घाटा नाफा के पायो भनेर आँकलन गर्न पनि मुस्किहुने बताइएको छ ।

चैततिरै किसानको बगानमै पुगेर व्यापारीहरुले अग्रिम पैसा दिएर बगान नै किनेको हुन्छ । नाफा घाटा सबै व्यापारीको नै हुन्छ । किसानले उत्पादन गरेको मूल्य कति हो र यहाँ व्यापारिक मूल्य कति हो भनेर छुट्याउन गहे हुने व्यवसायीहरु बताउँछन् । किसानको बगानमा जति तिरे पनि बजारले मूल्य निर्धारण गर्ने भएकाले घाटा नाफा व्यापारीकै हुने गरेको छ । उनीहरुले कुनैबेला ठूलै नाफा पनि लिन सक्छन् । कुनै बेला घाटा पनि हुनसक्छ । यसपाली आँपको मूल्य सस्तो भएकाले नाफा कमाउन मुस्किल रहेको एक व्यापारीले बताए ।

कालीमाटीको अवस्था

काठमाडौँ उपत्यकामा अधिकांश फलफूल कुलेश्वर मण्डीबाट बिक्री हुन्छ । कालीमाटीबाट नगन्य मात्रामा फलफूल बिक्री हुन्छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार पनि काठमाडौंमा यहाँबाट १० प्रतिशत पनि फलफूल बिक्री हुन्न ।

उनका अनुसार वैशाखदेखि असार १७ गतेसम्म एक हजार ३८२ टन मात्रै फलफूल बिक्री भएको छ । त्यसमा ७९३ अर्थात ५० प्रतिशतभन्दा बढी सिरहाको आँप आएको छ । सप्तरीको ११९ टन, सर्लाहीको १३० टन आएको छ । कूल भित्रिएकोमध्ये १६३ टन अर्थात १२ प्रतिशतको हाराहारीमा भने भारतबाट भित्रिएको छ ।

सिजनको सुरुआती चरण र अन्तिम तथा बेमौसममा भारतीय आँप आउने गरे पनि मौसममा भने नेपालकै आँप प्रसस्त हुने उनले बताए ।  सुरुमा आँप अलि महँगो भएर आउँछ । आँपको सिजन जेठ र असार हो ।

यो समयमा नेपाली आँपले नै भरिन्छ । आएका आँपमध्ये ९० प्रतिशत आँप मालदह हुने गरेको पनि उनले बताए ।  उनका अनुसार यहाँबाट जेठको पहिलो साता प्रतिकिलो २२८ रुपैयाँले थोकमा आँप बिक्री भएको थियो । दोस्रो साता १९१, तेस्रो साता १११ चौथो साता ८६ ले बिक्री भएको थियो ।

असारको पहिलो साता ६२, दोस्रो साता ७३,  तेस्रो साता ७५ हाराहारीमा बिक्री भइरहेको छ । यही १७ गते कालिमाटीमा ६० देखि ७० रुपैयाँ किलोमा थोकमा बिक्री भइरहेको छ ।

आजको मूल्य भने मालदह ७० देखि ८० प्रतिकिलोमा थोक बिक्री भइरहेको छ । कुलेश्वर फलफूल मण्डीमा भन्दा यहाँबाट अली महँगोमा फलफूल बिक्री भइरहेको छ । दुई चार दिन राख्न मिल्ने आँप अलि महँगोमा जान्छ, पाकिसकेको आँप सस्तोमा जान्छ त्यसैले आँप यति नै कारोबारमा हुन्छ भनेर भन्न नसकिने श्रेष्ठले भने ।

नेपालमा २४ जिल्लामा हुन्छ आँपको खेती

नेपालमा कूल फलफूल उत्पादनको क्षेत्रमध्ये आँपले ३० देखि ३५ प्रतिशत ओगटेको छ । नेपालमा सबैभन्दा बढी मधेश प्रदेशमा आँप उत्पादन हुन्छ ।

व्यावसायिक रुपमा आँप खेती हुने २४ जिल्ला छन् । हाल झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धादिङ्ग, नवलपरासी पश्चिम, कपिलवस्तु, रुपन्देही, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुरलगायतका जिल्लामा व्यावसायिक रुपमा आँपको खेती भइरहेको छ ।

फलफूल खेतीमा प्रचुर सम्भावना र अवसर हुँदाहुँदै पनि फलफूल खेतीको आशातीत विस्तार हुन सकेको छैन । बढ्दो जनसङ्ख्या, मानिसमा स्वास्थ्यप्रतिको सचेतना आदि कारण फलफूलको माग वर्षैपिच्छे बढ्दै गएको पाइन्छ । नेपाल सरकारले फलफूल उत्पादनका कार्यक्रम लागू गरे पनि पर्याप्त भएको छैन ।

फरकफरक समयमा फरकफरक जानका आँप उत्पादन हुन्छ । अगौटे जातहरुमा बम्बई ग्रिन, गोपाल भोग, सुकतारा, गुलाबखास आदि छन्, जसमध्ये जातहरुमा दशहरी, मालदह, मल्लिका, आम्रपाली पर्छन् । पछौटे जातहरुमा चौसा, कलमतिया, सिपिया, अबेहायात आदि रहेका छन् । फलफूल व्यवसायको व्यापक विस्तार गरी १० वर्षभित्र प्रमुख फलफूलहरूमा देशलाई आत्मनिर्भर बनाएर निर्यात प्रवद्र्धन गर्ने उद्देश्यका लागि आव २०७३/७४ देखि २०८२÷८३ सम्मलाई फलफूल दशकको रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छन् ।

हावापानीको दृष्टिकोणले तराईदेखि मध्यपहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ । आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीँ तीन/चार वर्षमा एक वर्ष मात्र राम्रो बाली प्राप्त हुने गर्दछ ।

पहाडी भेगका गर्मी ठाउँहरुमा लगाइएका आँपको बोटको वृद्धि तराई क्षेत्रमा गरिएको खेतीभन्दा कम हुनुको साथै उत्पादन तथा फलको गुणस्तर पनि कम हुन्छ । उष्णप्रदेशीय फलफूलहरुमध्ये आँपलाई प्रमुख फलको रुपमा मानिन्छ । पाकेको आँपमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ ।

पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ । दशहरी, मालदह, लङ्ग्रा, जर्दा, अल्फान्सा, अम्रपाली, मल्लिका, रत्ना, चौसा, कलकत्तिया, निलम, खौजलीलगायतका आँपका जात छन् ।

आँप उष्णप्रदेशीय सदाबहार बहुवर्षीय फलफूल बाली हो । भौगोलिक अवस्था अनुसार समुन्द्र सतहदेखि २००–६०० मिटरसम्मको उचाईमा व्यवसायिक रुपमा आँप खेती गर्न सकिन्छ । यसले तुषारो र सुख्खा सहन सक्दैन ।

जाडो र बसन्त ऋतुमा तुषारो पर्ने ठाउँ आँप बगैंचा बनाउन उपयुक्त हुँदैन । एउटै बिरुवाले कयौं दशकसम्म (३०–४० वर्ष) फल दिने हुनाले यसको लागि दीर्घकालीन सोच र सावधानीपूर्ण योजना बनाउनु जरुरी हुने फलफूल विज्ञको भनाइ छ । अनलाइन खबरबाट

२०८० असार २१, बिहीबार प्रकाशित 0 Minutes 148 Views

ताजा समाचार