२०८१ भाद्र २८ शुक्रबार

राप्रपाले गठबन्धनलाई नसघाउने, गठबन्धनले सभामुखसहित ४७ सांसदको दाबी पेश गर्ने

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समयसीमा घर्किँदै जाँदा कांग्रेससहितको गठबन्धनले राप्रपाको समर्थन पाउने सम्भावना कमजोर देखिएको छ ।

गठबन्धन दलहरुमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । उनीहरुसँग सभामुखसहित ४७ सांसद मात्रै छन् ।

सहज बहुमतका लागि राप्रपासहितको समर्थन आवश्यक पर्ने भन्दै ती दलका शीर्ष नेताको बैठकले समर्थन जुटाउने जिम्मा नेपाली कांग्रेसलाई नै दिइएको थियो । तर, यसबीचमा राप्रपासँग भएको छलफलले कुनै ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

‘हामीसँग सबै राजनीतिक दलहरुले अनौपचारिक र औपचारिक रुपले कुराकानी गरिराख्नु भएको छ । धेरैजसो अनौपचारिक छलफल नै भएका छन् । कुनै पनि कुराले अहिलेसम्म ठोस आकार लिएको छैन,’ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘राप्रपाले अहिले कोशी प्रदेशको सरकार निर्माणको प्रक्रियामा कांग्रेस र एमाले नै मिलेर सरकार बनाउन् भन्ने चाहना राखेको छ । यसमा हामी नपरे हुन्थ्यो भन्ने हामीले सोचेका छौं ।’

राप्रपा अध्यक्ष लिङ्देनले आजैभोलि नै कुनै सहमति जुट्ने अवस्था नरहेको पनि प्रतिक्रिया दिए । ‘सरकार निर्माणका विभिन्न चरण प्रारम्भ भएको छ । त्यसमा भर्खरै दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकारको दाबी गर्ने चरण चलिरहेकोमा अरु चरण बाँकी छ । अन्तिमसम्म हेरौं न,’ उनले भने ।

लिङ्देनले प्रदेश सरकारको स्थायित्वका लागि काँग्रेस र एमाले मिल्नुपर्ने आफ्नो धारणा रहेको भएपनि अन्तिम अवस्थामा सरकारमा नगई सरकारलाई समर्थन गर्न सक्ने संकेत गरे । तर, त्यसका लागि सरकार निर्माणको अन्तिम विकल्प मात्रै बाँकी रहेको अवस्थामा हुने उनको संकेत थियो ।

राप्रपाको यही अडानका कारण बहुमतको सरकारको दाबी गर्ने समयावधि असार २१ साँझ ५ बजेसम्ममा चार दलले ४७ सांसदको मात्रै समर्थन हुने गरी दाबी प्रस्तुत गर्ने भएका छन् । जसमा १ जना सभामुख पनि सरकार गठनका लागि संख्या देखाइने भएको छ ।

‘अहिलेसम्मको छलफलको अवस्था हेर्दा सभामुखसहितको संख्या ४७ लिएर मुख्यमन्त्रीको दाबी जाने देखियो,’ गठबन्धनका एक नेताले भने, ‘विश्वासको मत लिने समयसम्ममा परिस्थिति बदलिएन भने अब बन्ने सरकारको आयु पनि ३० दिनको मात्रै हुने भयो ।’

जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले आफूहरुले पनि नयाँ बन्ने सरकारलाई समर्थन दिने बताए । ‘हामी समर्थन दिन्छौं । तर, सरकारमा सहभागी बन्दैनौं,’ उनले भने, ‘कोशी नामको बारेमा पुनःविचार गर्ने लिखित प्रतिबद्धता भएमात्रै सरकारमा सहभागी हुन्छौं ।’

यसअघि तटस्थ बस्ने बताएको जसपाले पनि समर्थन गरेपछि असार २१ गते बिहीबार काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै चार दलले प्रदेश प्रमुख पर्शुराम खापुङलाई दाबी प्रस्तुत गर्नेछन् ।

प्रदेशसभामा काँग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद छन् । माओवादीको सांसद संख्या १२ मात्रै गन्न पाउने एमालेलगायतको भनाइ छ । सभामुखलाई गणना गरेको खण्डमा विवाद सिर्जना हुने देखिन्छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य मात्रै हुन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ जना सांसद छन् ।

एमाले–काँग्रेस गठजोडको दाबी

गठबन्धन दलहरुले नयाँ सरकार बन्न जोड गरिरहेको बेला काँग्रेसका केही नेताले भने एमालेसँग मिल्नुपर्ने भन्दै लविङ गरेको काँग्रेसकै एक प्रभावशाली नेताले बताएका छन् । पुस १० अगाडि संघीय सरकारमा माओवादीलाई प्रधानमन्त्री नदिने बरु एमालेसँग मिल्ने भन्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन लाग्ने नेताहरु नै कोशी प्रदेशमा एमालेसँग छलफलमा रहेको काँग्रेसका एक नेताले बताए ।

‘संघीय सरकारमा एमालेले समर्थन गर्ने गलत ब्रिफिङ गर्दै सभापति देउवासँग गएर पुस १० को घटना गराउनेहरु कोशी प्रदेशमा पनि त्यही नियति दोहोर्‍याउने प्रयासमा लागेका छन्,’ उनले भने, ‘त्यस्तो परिस्थिति सिर्जना भए काँग्रेसले दोस्रो गल्ती गर्नेछ ।’

कांग्रेसका कतिपय नेताले त्यसबेला संघीय सरकारमा प्रधानमन्त्री आफ्नो पार्टीले पाउने र एमालेले समर्थन गर्ने भन्दै माओवादीबाहेकको सरकार निर्माण गर्ने कोशिस गरेका थिए । त्यसका सूत्रधार मध्येका एक ज्ञानेन्द्रबहादुर कार्कीले कोशी प्रदेशमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् एमालेसँग मिल्ने प्रस्ताव गरेको काँग्रेस वृत्तमै चर्चा छ । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यसअघि कोशी प्रदेश सरकारमा एमालेसँग मिल्नका लागि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि लागेका थिए । उनीहरुको प्रयास यसअघि नै असफल भएको थियो ।

गठबन्धनका एक नेताका अनुसार एमाले सरकारमा सहभागी भएको माओवादीलाई राजीनामा दिन दबाब दिएर पुनः एमालेसँग मिल्ने प्रयास गर्ने काँग्रेसको रवैया गैरराजनीतिक रहेको टिप्पणी गरे । ‘काँग्रेसका कतिपय नेताहरु एमालेसँग मिल्न लागेको भन्ने सुनेको छु,’ उनले भने, ‘यो गैरराजनीतिक चरित्र हो । कांग्रेसले त्यसो गर्न मिल्दैन र हुँदैन ।’ रातोपाटी

२०८० असार २०, बुधबार प्रकाशित 0 Minutes 213 Views

ताजा समाचार