झापा । झापामा लम्पी स्किन रोगीवरुद्धको ३० हजार ४५६ खोप आवश्यक रहेको छ । कोशी प्रदेशमै सबैभन्दा बढी खोप झापामा आवश्यक रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
निर्देशनालयले असार १४ गतेसम्ममा सङ्कलन गरेको विवरणमा हालसम्म प्रभावित पशुहरूमध्ये ८० हजार ४२ वटामा खोप अभाव भएको छ । झापा पछि इलाममा २२ हजार ५१८, पाँचथरमा ११ हजार ६५०, ताप्लेजुङमा ४ हजार ५०, खोटाङमा ४ हजार, ओखलढुंगामा ३ हजार ५० वटा पशुमा खोपको आवश्यकता रहेको बताइएको छ । सङ्खुवासभा, तेह्रथुम, भोजपुर र सुनसरीमा भने खोप लगाउनु पर्ने पशुको सङ्ख्या नरहेको निर्देशनालयले जनाएको छ ।
कोशी प्रदेशमा हालसम्म लम्पी स्किन रोगबाट ३ हजार ६ सय १४ वटा पशुको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । जसमा सबैभन्दा बढी इलाम प्रभावित भएको छ ।
इलाममा मात्रै हालसम्म लम्पी स्किनबाट १ हजार ७३९ वटा पशुको मृत्यु भएको छ । जसमा २ वटा भैँसी छन् भने अरू सबै गाई र गोरी रहेको निर्देशनालयले जनाएको छ । यस्तै प्रदेशभरमा हालसम्म १ लाख ५९ हजार ४२९ वटा पशु यो रोगबाट प्रभावित भएका छन् । जसमा सबैभन्दा बढी इलामकै रहेका छन् । इलाममा २९ हजार ८८, पाँचथरमा २५ हजार ९ सय, झापामा २० हजार १४, उदयपुरमा १५ हजार ५ सय, धनकुटामा १५ हजार ४०६ र सुनसरीमा ८ हजार ३५५ वटा पशुमा लम्पी स्किन देखिएको छ । निर्देशनालयका अनुसार गाई गोरुमा धेरै यो रोग देखिएको छ ।