झापा । कोशी प्रदेशमा आर्थिक वर्ष २०७५।७६ मा ३७३ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । २०७६/७७ मा ३३२ जना २०७७/७८ मा ४४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिए ।
आज आयोजित ट्राफिक सचेतना सप्ताह कार्यक्रम उद्घाटन कार्यक्रममा उनको भनाई अनुसार गत वर्ष मात्रै यस प्रदेशमा ३ हजार ८२० दुर्घटनामा परी ५३१ जनाको मृत्यु भएको छ । जसमा १ हजार ११४ जना गम्भीर घाइते र ५ हजार ३३५ जना सामान्य घाइते भएका छन् । उनका अनुसार वर्षेनि ८० प्रतिशत दुर्घटना वृद्धि भएको उनले बताए । अधिकांश सवारी दुर्घटनामा मानवीय त्रुटि प्रमुख कारणको रूपमा रहेको उनले बताए ।
चालक र सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पूर्ण पालना गरेको खण्डमा दुर्घटनामा न्यूनीकरण हुने उनको भनाइ थियो।
५३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण ‘दुर्घटनाको मानवीय कारणहरूको विश्लेषण गर्दा ५३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण देखिएको एसपी महतोले बताए । उनका अनुसार १६ प्रतिशत दुर्घटना चालकको लापरबाही, १० प्रतिशत दुर्घटना चालकले मादक पदार्थको सेवन गरी सवारी चलाउँदा र ७ प्रतिशत दुर्घटना चालक अनुमतिपत्र नलिएर दुर्घटना भएको देखिएको छ ।
१२ प्रतिशत दुर्घटना सडक प्रयोगकर्ताले असावधानीपूर्वक सडक प्रयोग गरेको कारणले दुर्घटना भएको देखिएको र यसरी भएको दुर्घटनालाई नजिकबाट नियाल्दा ५७ प्रतिशत दुर्घटनामा मोटरसाइकल, १६ प्रतिशत दुर्घटना सिटी, इ रिक्सा तथा टेम्पु र ११ प्रतिशत दुर्घटनामा साना सवारीसाधनको संलग्नता रहेको एसपी महतोले जानकारी दिए।
मादकपदार्थ समेत चेकजाँच गर्ने
मादकपदार्थ सेवनलाई चेकजाँच गर्दा चालकले लागुऔषध सेवन गर्ने गरेको गुनासो आएकाले लागुऔषध चेकजाँज गर्ने अभियान समेत सञ्चालन गर्ने उनले बताए ।
‘मादकपदार्थ सेवनलाई चेकजाँच गर्दा धेरै जस्तो चालकले पनि लागुऔषध सेवन गर्ने गरेको पाइएको छ’, उनले भने,‘ हामीसँग लागुऔषध जाँच्ने किट थिएन, अब लागुऔषधविरुद्धको चेकजाँज गरी यो अभियान पनि सञ्चालन गर्ने प्रक्रियामा जान्छौँ।’
ट्राफिक सप्ताह वर्षेनि हुने गरेको जानकारी दिँदै उनले यो कार्यक्रम निकै प्रभावकारी भएको समेत बताए । उनले प्रदेशभर ४७४ जना ट्राफिक प्रहरी रहेको जानकारी दिँदै उनले केही कार्ययोजनामा जनशक्ति अपुग भए पनि प्राविधिक पहुँचसम्म पु¥याएर प्राविधिक स्रोत सामग्रीको बढीभन्दा बढी उपलब्ध गराउन सके यो जनशक्ति थोरै नभएको दाबी गरे।