बिराटनगर । सत्तारुढ गठबन्धनको बैठकमा कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय भएको नेकपा एकीकृत समाजवादी पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
एमालेका मुख्य मन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएपछि भावी मुख्यमन्त्रीमा कांग्रेस र माओवादीले दाबी गर्दै आएका थिए।
‘हामी गठबन्धनमा भएको दलहरुको तर्फबाट नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।’ बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले भने ।
तर ९३ सदस्यीय प्रदेशसभामा समीकरण फेरबदल बिना नयाँ सरकार गठन सहज छैन । राप्रपालाई पनि सरकारमा सहभागी गराएर बहुमत जुटाउने सत्ता गठबन्धनको तयारी छ।