२०८१ बैशाख १८ मंगलवार

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…

मेचीनगर, १५ असार । धुलाबारीको इष्ट होराइजन माविका विद्यार्थीहरुले मेचीनगरको विभिन्न स्थानमा गएर धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् ।
राष्ट्रिय धान दिवस असार १५ को अवसरमा आज मेचीनगरको गोजा बस्ती, लालपानी, खुट्टीडाँगी लगायत विभिन्न स्थानमा विद्यार्थी, शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान दिवस मनाएका हुन् ।

प्रत्येक वर्ष इष्ट होराइजनका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान रोप्न जाने गरेका छन् । आफू बच्चा हुँदादेखि नै विद्यालयबाट धान रोप्न जाने गरेको र आफूले धान मजाले रोप्न सिकिसकेको कक्षा-१०मा अध्ययनरत् छात्रा गरिमा बस्नेतले बताइन् ।

विद्यार्थीलाई असार १५ को महत्व दर्शाउन खेतमै पुगेर धान रोप्न लगाइएको विद्यालय प्रमुख प्रशासक सावित्रा राईले बताइन् । ‘अबको शिक्षा व्यावहारिक, सीपमुलक तथा आयआर्जनमुलक हुनुपर्दछ,’ प्रमुख प्रशासक राईले भनिन्, ‘यस प्रकारको शिक्षण सिकाई क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्दछ ।’

विद्यालयले बालबालिकाहरुलाई करिव ८ वर्ष अघिदेखि नै राष्ट्रिय धान दिवस मनाउन प्रोत्साहन गर्ने गरेको शिक्षक विकास ग्वालले बताए । मन्टेश्वरीका विद्यार्थीलाई विद्यालय परिसरमा नै खेतको गरा बनाई रोप्ने गरिएको र कक्षा १ देखि कक्षा १२ सम्मलाई आफ्नै किसान अभिभावकसँग समन्वय गरेर मेचीनगरको विभिन्न स्थानमा लगेर असार १५ मनाउने गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले जानकारी दिए ।

२०८० असार १५, शुक्रबार प्रकाशित 1 Minute 424 Views

ताजा समाचार