नेपालको संविधान-२०७२ को धारा २१७ बमोजिम ७५३ पालिकाका न्यायिक समिति र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम ४८ घण्टे पूणर् तालिम लिएका र न्यायिक समितिमा सूचीकृत मेल-मिलापकर्ताहरुले कार्य गरिरहेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को (१)(२) बमोजिम मेल-मिलापको माध्यमबाट विवाद निरुपण गरिरहनु भएका मेचीनगर नगरपालिका वडा नं. १ देखि वडा नं. १५ वटै वडाका तालिम प्राप्त सूचीकृत मेल-मिलापकर्ता र न्यायिक समितिले हालसम्म निर्वाह गरेको भूमिका र भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ कसरी सशक्त बनाउन सकिन्छ ? मेचीनगर नगरपालिकामा क्रियाशील मेल-मिलापकर्ता र अन्य पालिकाका मेल-मिलापकर्ता बीचको कार्यशैलीमा एकरुपता छ/छैन ? हामीले अझ ध्यान दिनुपर्ने कुराहरु के के हुन् ? भौगोलिक अवस्थाले न्याय सम्पादनमा पार्न सक्ने प्रभावहरु के के हुन सक्छन् ? विवाद निरुपण गर्दा ध्यान पुर्याउनु पर्ने कार्यहरुमा के कति भिन्नता छ वा छैन ? मेल-मिलाप सम्बन्धी आधारभूत तालिमलाई व्यवहारिक रुपमा प्रयोग गर्दा आइपर्ने चुनौती र हाम्रो र अन्य पालिकाबीच एकरुपता छ/छैन ? यस्तै विषयबस्तुलाई नजिकबाट वा प्रत्यक्ष नियाल्न र प्रत्यक्ष सम्बाद गर्न यहाँका मेल-मिलापकर्तालाई र न्यायिक समितिलाई अन्य पालिकाबाट शिक्षा लिई अझ सशक्त बनाउन मिति २०८० जेष्ठ २४ गते विहान ८ः०० बजेबाट “तीन दिवसीय अन्तरपालिका अवलोकन भ्रमण” गरिएको छ ।
मेल-मिलापकर्ता सन्तोष न्यौपानेको संयोजकत्व र न्यायिक समितिका अधिकृत इन्दिरा खरेलको व्यवस्थापनमा अवलोकन भ्रमणको उद्घाटन न्यायिक समिति संयोजक तथा उप-प्रमुख मिना पोखरेल उप्रेतीले गर्नुभएको थियो । भ्रमण दलमा मेचीनगर-१० बाट वर्ष २३ का विशाल कार्की देखि मेचीनगर—६ बाट वर्ष ७६ का नरेन्द्रप्रकाश सिटौला समेत जम्मा ४८ जना सहभागी कार्यक्रममा महिला १९ र पुरुष २९ जना भएको अवलोकन भ्रमणमा पहिलो भेटघाट इटहरी उप-महानगरपालिकामा भयो । त्यहाँको न्यायिक समितिको इजलास अदालतलाई विर्साउने प्रकारको रहेछ । त्यहाँको सभाहल भवन ठूलाठूला रहेछन् । भवनहरुको बीच भागमा ठूलो आकर्षक पोखरी रहेछ । सभाहलमा खचाखच कर्मचारी र मेलमिलापकर्ताले भरिएको कार्यक्रममा त्यहाँका उप-प्रमुख तथा न्यायिक समिति संयोजक संगीताकुमारी चौधरीले बजेट बनाउने चटारो छाडेर हाम्रो अवलोकन भ्रमणलाई स्वागत गर्नुभयो र कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभयो । न्याय सम्पादनमा मेचीनगर नगरपालिका मेल-मिलापकर्ताले गर्दै गरेका कार्य र इटहरी उपमहानगरपालिकाका मेल-मिलापकर्ताले गर्दै गरेको कार्य पद्धतिमा समानता देखियो । न्याय सम्पादनमा बोलाउँदा नआउनेलाई प्रहरीको सहयोगमा ल्याउने कानुनको २ वटै पालिकामा खाँचो भएको देखियो । तर एउटा भिन्नता चाँहि के रहेछ भने आफ्ना पालिका भित्रका दक्ष मेल-मिलापकर्ता ३ जना छनौट गरी पालिकामा राख्ने गरेको पाइयो । त्यसले अझ सहजरुपमा न्याय सम्पादन हुने, सबै पालिकाले सिक्नै पर्ने हुन्छ र हाम्रोतर्फबाट न्यायिक समितिका सदस्य कुन्दन निरौलाले प्रस्तुति दिनुभयो भने मायाको चिनो न्यायिक समितिका अधिकृत इन्दिरा खरेलले हस्तान्तरण गर्नुभयो ।
सो कार्यक्रम पश्चात धरान, भेडेटार, मूलघाटको रमणीय पुलहरु अवलोकन गर्दै रमाइलो गर्दै धनकुटा नगरपालिका पुग्दा हाम्रो टोलीलाई स्वागत गर्न कौतुहलताका साथ धनकुटा नगरपालिका न्यायिक समितिका संयोजक तथा उप-प्रमुख भीमादेवी खनाल लगायतको टोली प्रतिक्षारत रहेछ । बैठक हलमा प्रवेश गरेपछि उप-प्रमुख भीमादेवी खनालको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा भएको कार्यक्रममा सहभागी हामी पाहुनाहरुलाई रुद्राक्षको माला लगाई स्वागत गरिएको थियो । धनकुटा नगरपालिकामा न्याय सम्पादनको कार्य दक्षतापूणर् र आधुनिक तबरले गर्दै गरेको पाइयो । धनकुटा नगरपालिका र अन्य केही पालिकामा न्याय सम्पादन सरल र सहज होस् भनेर २०५९ सालदेखि नै दातृ संस्थाको सहयोगमा २७ जना मेल-मिलापकर्तालाई तालिम दिइ दक्ष बनाइ पूर्व क्षेत्रमै सबैभन्दा पहिलादेखि नयाँ पद्धतिबाट न्याय सम्पादन गरेको पाइयो । यो एउटा उदाहरणीय नगरपालिका भएको रहेछ । २०७४ सालपछि नयाँ कानुन, नियम अनुसार मेल-मिलापकर्तालाई तालिम दिइ न्यायिक कार्य गरिरहेको र न्यायिक समितिले फैसला गर्नु नपरेको यस नगरपालिकाले उच्च न्यायिक कार्य गरेकोमा पुरस्कार समेत प्राप्त गरिसकेको रहेछ । धनकुटा नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रबाट ३ जना उत्कृष्ट मेलमिलापकर्ता छनौट गरी पालिकामा राखेको पाइयो र ती ३ जना मेल-मिलापकर्तालाई बैठक भत्ता रु.७००/— का दरले दिएको रहेछ । हाम्रो टोलीको तर्फबाट कुन्दन निरौलाले बोल्नुभयो भने मेचीनगर नगरपालिका न्यायिक अधिकृत इन्दिरा खरेलले मायाको चिनो हस्तान्तरण गर्नुभयो ।
सो कार्यक्रमको समापन पछि हाम्रो टोली उत्तीसघारी, सल्लोघारी हुँदै हिलेको तुङ्वा स्तम्भ हेर्दै हिलेमा नै बास बस्न पुगियो । विहान सबेरै उठेर त्यहाँबाट खाँदबारीतिर प्रस्थान गरियो । बाटोमा मुगा, पाख्रीबास बजार, दियाले, माङमाया हुँदै लेवतीखोला तरेर रामरिठ्ठा, लेगुवा चौकी, लेगुवा नदी पार गरेर बेलटार, सुर्तीबारी र अक्करे भिर पार गरियो । तीनरिङको बाटो सभा खोलाको पुल पार गरी तुम्लिङटारबाट मानेभञ्ज्याङ हुँदै हाम्रो पहाडको अन्तिम गन्तब्य खाँदबारी पुगियो । खाँदबारी बजार ठूलो र सफा रहेछ । अत्यन्तै सुन्दर र मनमोहक सो बजार बस्न लायकको ठाउँ रहेछ । तर यसपालिको मौसम अनुसार खाँदबारी बजारमा निक्कै गर्मी महसूस भयो ।
हाम्रो टोली खाँदबारी नगरपालिका पुगेपश्चात कार्यक्रममा लागि हलमा प्रवेश गरियो र त्यहाँ पनि हामीलाई राम्रो स्वागत सत्कार गरियो । हल भित्र सो ठाउँमा पाइने विभिन्न रङ र प्रजातिका चराहरुको आकृति हेर्न पाइयो । न्यायिक समिति संयोजक तथा खाँदबारी नगरपालिकाका उप-प्रमुख महेश्वरा श्रेष्ठ बज्रचार्यको अध्यक्षतामा भव्यताका साथ कार्यक्रम भयो । हामी भ्रमणकर्ता पाहुना टोलीलाई रुद्राक्षको माला लगाएर भव्य स्वागत गरिएको थियो । हाम्रो तर्फबाट न्यायिक समिति सदस्य कुन्दन निरौला र मेल-मिलाप सदस्य नरेन्द्रप्रकाश सिटौलाले बोल्नु भएको थियो भने मेचीनगर नगरपालिका न्यायिक अधिकृत इन्दिरा खरेलले मायाको चिनो हस्तान्तरण गर्नुभयो । खाँदबारीमा मेल-मिलापकर्ता उत्पादन नगरिएको, परम्परागत तरिकाबाट मेल-मिलाप गराइएको पाइएकोले हाम्रोतर्फबाट नयाँ तरिका र आधुनिक तबरबाट मेल-मिलाप गराउने कार्य शुरु होस् भनी सल्लाह सुझाव दिने कार्य भयो । नयाँ पद्धतिबाट न्याय कार्य सम्पादन गर्न उहाँहरुलाई सहज होस् तथा सर्वसाधारणले सहज रुपमा न्याय पाउन सकून् भन्ने उद्देश्यले हामीसँग रहेको ‘मेलमिलाप प्रक्रिया सहयोगी हाते पुस्तिका’ र नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित ‘मेरा जीवनका पानाहरु’ खाँदबारी न्यायिक समितिका संयोजक तथा उप-प्रमुख महेश्वरा श्रेष्ठ बज्रचार्यलाई हस्तान्तरण गरियो ।
त्यहाँबाट प्रस्थान गरी सो रात भेडेटारमा बास बसियो । यो भ्रमण भन्दा अगावै धेरै पटक सुन्दर र रमणीय स्थान भेडेटारमा बास बसियो तर यो पटकको बसाइबाट बेग्लै प्रकारको अनुभूति प्राप्त भयो । सधैं चीसो हावा चल्ने, गर्मीको महसूस नहुने भेडेटारमा यस पटक भने गर्मीको महसूस भयो । त्यहाँबाट बराह क्षेत्र मन्दिर दर्शन गरी बराह क्षेत्र नगरपालिका प्रस्थान गर्दा त्यहाँका न्यायिक समिति संयोजक नन्दकुमारी सुनुवार, प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला र अन्य कर्मचारीहरु हाम्रो स्वागत सत्कारका लागि तयार हुनुहुन्थ्यो । हाम्रो अवलोकन भ्रमण टोलीलाई भव्य स्वागत गरियो र सो पश्चात भएको कार्यक्रममा हाम्रोतर्फबाट कुन्दन निरौलाले केही विचारहरु प्रस्तुत गर्नुभयो । त्यहाँ पनि भर्खरै मेल-मिलापकर्तालाई तालिम दिँदै कार्य अगाडि बढाइएको पाइयो ।
हाम्रो यात्रा अन्तिम चरणतिर पुगिसकेको थियो । अन्त्यमा छिन्नमस्ता भगवती मन्दिर गइयो । त्यहाँको क्षेत्र फराकिलो रहेछ । हेर्न लायक ठूलो पोखरी समेत रहेछ । त्यहाँ अतिथि गृह धर्मशाला रहेछ । सबैतिर टायल्स विछ्याइएको देखियो । ठाउँ असाध्यै राम्रो र मन्दिर दर्शन गर्न लायक रहेछ । त्यहाँ बोका, हाँस, परेवा आदिको बलि दिने परम्परा र चलन रहेछ । मन्दिरको व्यवस्थापनमा केही कुराहरु सुधार गर्नुपर्ने देखियो । सरसफाइमा ध्यान पुर्याउनु पर्ने, बलि दिएका पशुपन्छीहरुको खुन सुकेर जताततै फोहोर देखिएकोले सो कार्य तत्काल सुधार गर्नुपर्ने देखियो ।
हाम्रो यात्रामा यात्रा अवधिभर हामीले कुनै कठिनाइको सामना गर्नु परेन र सहज रुपमा रमाइलो साथ अवलोकन भ्रमण सम्पन्न भयो । एक अर्का पालिकासँग न्याय सम्पादन सम्बन्धी ज्ञान आदान-प्रदान भयो । यस्तो कार्य मेचीनगर नगरपालिकाले निरन्तर रुपमा गरिरहनु पर्ने महसूस भयो । न्यायिक समिति र मेल-मिलापकर्तालाई अझ दक्ष बनाउन समय समयमा अवलोकन भ्रमणका लागि मेचीनगर नगरपालिकाले छुट्टै बजेटको व्यवस्था गर्न सके न्यायिक क्षमतामा बृद्धि हुने थियो । मेचीनगर नगरपालिकाका १५ वटै वडाका न्यायिक समितिबाट कति प्रकारका, कस्ता प्रकारका, कति वटा विवादहरु समाधान भए सो को तथ्याङहरु समेत लिएर भ्रमणमा गएको भए अझ राम्रो र आकर्षक हुने थियो । अन्त्यमा भ्रमण दलका सबै मित्रहरुलाई धन्यवाद दिँदै सबैले सर्वसाधारणमा उब्जेको, गुम्सिएर बसेको विवाद हाँसी हाँसी हँसाएरै समाधान गरौं । यही नै हामी मेल-मिलापकर्ता र न्यायिक समितिको सफलता हो ।