२०८१ फाल्गुन ३ शनिबार

जनताका समस्या बोकेर कांग्रेस पुग्यो मेचीनगरका वडा कार्यालयमा

धुलाबारी, ४ असार । नेपाली कांग्रेस मेचीनगर वडा नं. १० समितिले वडा कार्यालयमा ४५ बुँदे मागपत्र बुझाएको छ । आर्थिक वर्ष २०८०−०८१ को प्रस्तावित नीति तथा कार्यक्रममा वडाका योजना समेट्न सुझावसहितको माग पत्र वडाध्यक्ष नारायण खनाललाई बुझाएको हो ।

कांग्रेसको वडा नं. १० समितिले पशुहाट व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सवारी साधनको उचित पार्किङ, कृषिमण्डीको अवधारणा, बजार व्यवस्थान, स्वास्थ्य, शिक्षा, विद्युत लगायतका योजनालाई समेटेर कार्यान्वय गर्न माग गरिएको नेपाली कांग्रेस वडा नं १० का वडा सचिव चन्द्र भट्टराईले जानकारी दिए । मेचीनगर−१० धुलाबारीमा लाग्दै आएको सब्जी बजारको उचित व्यवस्थापन गर्न जोडदार माग गरिएको ज्ञापन पत्रमा समेटिएको छ । हाल उक्त सब्जी बजार निजी व्यक्तिको जमिन भाडामा लिएर व्यापारीलाई दोहोर कर लिइएकोप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

यस्तै, सरकारी खाली जग्गामा पशु हाटको व्यवस्थापन गर्न माग गरिएको वडा सचिव भट्टराईले बताए । हाल उक्त पशुहाट जग्गा भाडामा लिएर लगाउँदै आएको छ । कांग्रेसले अव्यवस्थित सुकुम्बासी समस्या समाधान गर्न तथा सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउन जोडदार माग गरेको छ ।

नेपाली कांग्रेस वडा नं १० का वडा सभापति चन्द्र तिवारीको नेतृत्वको टोलीमा कांग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवडा, प्रदेश सचिव इन्द्र आङ्देम्बे, दलित नगर अध्यक्ष द्रोणर् बाघदास, नगर सचिव मनोज घिमिरे, क्षेत्रीय प्रतिनिधि, नगर पदाधिकारी, क्षेत्रीय पदाधिकारी लगायत सहभागी थिए । मागपत्र बुझ्दै मेचीनगर वडा नं १० का वडाध्यक्ष नारायण खनालले आएका सुझावलाई सकारात्मक लिँदै अघि बढ्ने बताए ।

यस्तै, नेपाली कांग्रेस मेचीनगर वडा नं. ९ समितिले पनि आज (सोमबार) वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

वडा सभापति उद्धव बानियाँ नेतृत्वको टोलीले वडाध्यक्ष कञ्चन कुमार तामाङसमक्ष १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । कांग्रेस वडा समितिले वडावासीका समसामयिक समस्यालाई समेटेर सम्बोधन गर्न माग गरिएको छ । वडाको सन्तुलित विकासका लागि तत्काल गर्नुपर्ने योजनाहरुलाई समेटेर अघि बढ्न सुझावसहितको माग पेश गरिएको वडा सचिव विक्रम खतिवडाले बताए ।

ध्यानाकर्षण पत्रमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषय समेटिएका छन् । कार्यक्रममा नेपाली कांग्रेस मेचीनगर सचिव मुकेश लिम्बूले जनताका मागलाई नीति तथा कार्यक्रममा समेट्न माग गरे । उनका अनुसार नेपाली कांग्रेसले मेचीनगरका १५ वटै वडामा माग पत्र बुझाउने छ । कांगेसले झापा क्षेत्र नं. १ अन्तर्गत २१ वटै वडामा पुगेर खबरदारीसहित मागपत्र बुझाउने निणर्य यसअघि गरेको थियो ।

२०८० असार ५, मंगलवार प्रकाशित 0 Minutes 364 Views

ताजा समाचार