पौराणिक ग्रन्थकी रोचक पात्र हुन्, सीता । मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा रामसँग भएको थियो । यो त्रेतायुगको कथा हो । पूर्वीय दर्शनले सीतालाई ‘आदर्श नारी’को रुपमा उल्लेख गरेको छ ।
शब्दकोशमा सीताको अर्थ जोत्दा जमिनमा रहेको हलोको डोब, हलोको फालीबाट धर्तीमा निर्मित रेखा भनिएको छ । प्रचलित कथा अनुसार यज्ञभूमि तयार पार्न राजर्षि जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको पाइन्छ ।
यद्यपि सीताको जन्मबारे पौराणिक ग्रन्थहरुमा एकरुपता पाइँदैन । वाल्मीकि रामायण, आनन्दरामायण, अद्भुतरामायण, अध्यात्मरामायण, कम्बरामायण, देवीभागवत आदि पुराणमा सीताको जन्मबारे उल्लेख गरिएको छ । पद्मपुराण र भविष्यपुराणमा सीताको जन्म कसरी भयो भनी विस्तारमा भनिएको छ ।
सीताको जन्मसम्बन्धी सबैभन्दा प्रचलित कथा हो, वाल्मीकि रामायण । महर्षि वाल्मीकिले रामायणमा लेखेका छन्, ‘मिथिला राज्यमा भयंकर खडेरी परेको थियो । तब ऋषिमुनिहरुले मिथिलामा वर्षा गराउन राजा जनकलाई यज्ञ आयोजना गर्न भने । धुमधाम यज्ञपछि राजा जनक आफैं खेतमा हलो जोत्न गए ।
खेत जोत्दै गर्दा हलोको फाली कुनै कडा वस्तुमा अड्कियो । राजा जनकले त्यहाँबाट हलो निकाल्न सकेनन् । तब उक्त ठाउँमा खन्न लगाइयो । यसरी खन्दा जमिनभित्र एउटा कलश भेटियो ।
कलश उठाएर हेर्दा एक सुन्दर कन्या खेल्दै गरेको देखियो । ती कन्यालाई राजा जनकले कलशबाट बाहिर निकालेर आफूसँगै लिएर आए । अनि धर्मपुत्री बनाएर पालनपोषण गर्न थाले । भनिन्छ, त्यसअघि राजा जनक र उनकी पत्नी सुनैनाबाट कुनै सन्तानको जन्म भएको थिएन । त्यसैले उनै सीतालाई राज दम्पतीले आफ्नो सन्तानको रुपमा हुर्काए ।’ यही कथनको आधारमा सीतालाई भूमिपुत्री भन्ने गरिएको छ ।
अद्भुत रामायणको कथा
देवी सीतासम्बन्धी एक अन्य कथाको उल्लेख अद्भुत रामायणमा पाइएको छ । कथामा उनलाई लंकापति रावण र मन्दोदरीकी पुत्री भनिएको छ । यो कथा रामायणसँग मिल्दोजुल्दो छ ।
कथाको विस्तार यस प्रकारले गरिएको छ । गृत्समद नामको ऋषिले देवी लक्ष्मीलाई आफ्नो छोरीको रुपमा पाउन हरेक दिन मन्त्रोच्चारण गरेर कुशको अगाडिको भागले एउटा कलशमा दूधको थोपा-थोपा राख्ने गर्थे ।
एक दिन जब ऋषि आश्रममा थिएनन् तब रावण त्यहाँ पुगे । उनले त्यहाँ भएका सबै ऋषिमुनिलाई मारेर उनीहरुको रगत कलशमा भरिदियो । त्यही कलशलाई कसैले नदेखिने गरी आफ्नो महलमा लिएर लुकाइदिएको थियो ।
संयोगवश त्यो कलश रावणकी श्रीमती मन्दोदरीले देखिन् । उसलाई त्यो कलश आखिर के छ भनेर हेर्न उत्सुक भइन् । जब एक दिन रावण महलमा थिएनन्, त्यही मौका छोपी उनले त्यो कलश खोलेर हेरिन् । मन्दोदरीले त्यस कलशभित्र रहेको सबै रगत पिउन थालिन् । जसले गर्दा उनी गर्भवती भइन् ।
यो भेद कसैलाई थाहा नहोस् भनेर उनले आफ्नी छोरीलाई कलशमा लुकाएर लंकाबाट धेरै टाढा पुगिन्, अनि मिथिलामा छाडेर फर्किइन् । यसकारण सीता रावणको छोरी भन्ने गरिएको छ ।
रावणको मृत्युको कारण
देवी सीताको तेस्रो कथा वेदवती नाम गरेकी एक ब्राह्मण कन्यासँग सम्बन्धित छ । जुन ब्रम्हवैवर्त पुराणमा उल्लेख गरेको पाइन्छ । यस कथामा भनिएको छ कि एक समयमा वेदवती भगवान विष्णुलाई आफ्नो श्रीमानको रुपमा पाउन तपस्या गरिरहेकी थिइन् । सोही समयमा रावण हिमालयको भ्रमण गरिरहेका थिए । उनको नजर वेदवतीमा पर्यो र रावणले तपस्या गरिरहेका वेदवतीको हात समातेर जबर्जस्ती सम्बन्ध बनाउन खोज्यो ।
तर वेदवतीले आफूलाई रावणबाट बचाएर पहाडबाट खाडलमा हामफालेर ज्यान दिएकी थिइन् । त्यसरी मर्ने बेला उनले रावणलाई श्राप दिएकी थिइन्, ‘म पुनर्जन्म लिई लंका आएर तँ र तेरो वंशलाई सखाप पार्नेछु ।’ अनलाइन खबरबाट
विभिन्न स्रोतबाट