
काँकरभिट्टा । नेपाल-भारत पूर्वी सीमावर्ती मेची पुलमा सुरक्षार्थ खटेको सशस्त्र प्रहरीले सिटी सफारी चालकलाई कुटपिट गरेपछि करिव ३ घण्टा सवारी अवरोध भएको छ । सशस्त्र प्रहरीबल काँकरभिट्टा गुल्मबाट मेचीपुलमा खटेको प्रहरीले भारतीय सिटि चालकलाई कुटपिट गरेपछि उनीहरूले मेचीपुलको बिचमा सिटी राखेर अवरोध गरेका हुन् ।
सशस्त्र प्रहरीले अनाहकमा सिटी मजदुरमाथि गरेको कुटपिटको बिरोध गर्दै सवारी अवगमन रोकेपछि हजारौ यात्रीहरूले सास्ती भोग्नु परेको थियो । सशस्त्र प्रहरीले पछिल्लो समय पुर्वी सीमा क्षेत्रमा विवादित काम गर्दै आएको छ ।

पुर्वी नाकामा रहेका सशस्त्रले आम नागरिक र व्यवसायीसँग समन्वय नगर्दा दैनिक जसो घम्सा-घम्सीसँगै विवादित बन्दै गएको छ । अवरोध हटाउन दुवै देशका प्रहरी-प्रशासन र सवारी मजदुर बिच छलफल भएर अवरोध खुलेको थियो । मुख्य सीमा नाकामा भएकाले सवारी अवरोधका कारण मानवीय सेवामा खटिने एम्बुलेन्ससमेत चल्न सकेनन् ।
यस्तो संवेदनशील नाकामा घण्टौ अवरोध हुँदासमेत सम्बन्धित निकायले किन गम्भीरता देखाएन भन्ने जिज्ञासा आम नागरिकको छ । पिडित पक्षद्वारा सशस्त्र प्रहरीले घटना स्थलमै माफी माग्नु पर्ने माग राखेर अवरोध गरेको थियो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार कार्यालय, भारतीय सीमा सुरक्षा बल र सिटी मजदुरहरूको संयुक्त छलफलबाट अवरोध हटेको छ ।