२०८१ भाद्र २८ शुक्रबार

मेचीनगर नगरपालिकाद्वारा एउटै व्यक्तिलाई १२ पटकसम्म सामाजिक सुरक्षा भत्ता वितरण

मेचीनगर, जेठ ३० । मेचीनगर नगरपालिकाले सामाजिक सुरक्षा बापत एउटै व्यक्तिलाई एकै आर्थिक बर्षमा भत्ता वितरण गरेको खुलेको छ । गत आर्थिक बर्ष २०७८-०७९ मा मेचीनगरले एक जना व्यक्तिलाई १२ पटकसम्म ४८ हजारका दरले रकम भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, अन्य धेरैजनालाई एकै आर्थिक बर्षमा तोकिएकोभन्दा बढी रकम वितरण गरेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

महालेखाको प्रतिवेदन अनुसार तोकिएको भन्दा धेरै भत्ता पाउने वा दुईपटकदेखि १२ पटकसम्म भत्ता बैंक खातामा जम्मा भएकाहरुको संख्या मेचीनगरमा ४७२ जना रहेको छ ।

जबकि एक आर्थिक बर्षमा एक व्यक्तिले त्रैमासिक भुक्तानि गर्दा १२ हजारका दरले तीन पटक मात्रै समाजिक सुरक्षा भत्ता पाउँछ । तर मेचीनगरले एउटै व्यक्तिलाई एकै त्रैमासिकमा दुई वा त्यो भन्दा धेरै पटक भत्ता वितरण गरेको महालेखाले औंल्याएको छ ।

                                                       समाजिक सुरक्षा भत्ता वितरणमा महालेखाले देखाएको बेरुजु

मेचीनगरले दुई किसिमले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमिता गरेको देखिन्छ । पहिलो एउटै नाम र बैंक खाता नम्बर एउटै भएका तर नागरिकता नम्बर फरक फरक भएका व्यक्तिलाई दुई वा त्यो भन्दा बढी भत्ता वितरण गरेको देखिन्छ भने दोस्रो एउटै नागरिकता नम्बर भएका व्यक्तिलाई फरक फरक बैक खाताबाट दुई वा दुई भन्दा धेरै पटक भत्ता वितरण गरेको महालेखाले प्रतिवेदनमा स्पष्ट देखाएको छ । महालेखाले बढी भुक्तानी भएको रकमका बारेमा छानविन गरी अशुल गर्नु पर्नेसमेत उल्लेख गरेको छ ।

मेचीनगरमा एउटै व्यक्तिको फरक फरक बैंक खातामा रकम जम्मा गरेकाहरुको संख्या ७५ जनामा २४ लाख दुई सय ५६ रुपैया अनियमित भएकाले यकिन गरी असुल गर्नु पर्ने महालेखाले उल्लेख गरेको छ । त्यस्तै एउटै परिचय पत्र नम्बरबाट एकै लाभग्राहीलाई फरक फरक बैक खाताबाट दुई वा दुई भन्दा धेरै पटक भत्ता वितरण गरेको संख्या ३९७ जनामा एक करोड ९४ लाख ६९ हजार एक सय १६ रुपैया बढी वितरण गरेको देखिएकाले छानविन गरी यकिन गर्नु पर्ने महालेखाले प्रतिवेदनमा लेखेको छ ।

                           महालेखाको प्रतिवेदनमा उल्लेख भएको समाजिक सुरक्षा भत्ता वितरणको अर्को बेरुजु

महालेखाको प्रतिवेदन सार्वजनिक भएर सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमिता देखिएको समाचारहरु सार्वजनिक भए पनि मेचीनगर नगरपालिकाको कार्यालय अहिलेसम्म यसबारेमा मौन रहेको छ ।

२०८० जेष्ठ ३०, मंगलवार प्रकाशित 1 Minute 1010 Views

ताजा समाचार