२०८१ आश्विन १९ शनिबार

स्कुटरलाई ठक्कर दिने बसमाथि आगजनी तथा तोडफोड गर्ने ५ पक्राउ

मोरङ । बसको ठक्करबाट स्कूटी चालकको मृत्यु भएपछि ठक्कर दिने बसमाथि आगजनी तथा तोडफोड गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही विषयलाई लिएर उक्त बसमा आगजनी र तोडफोड गर्ने उनीहरुलाई घटनास्थलबाट नियन्त्रणमा लिई आपराधिक उपद्रव कसूरमा जिल्ला अदालत मोरङबाट दिन ७ दिन म्याद थप भइ अनुसन्धान जारी रहेको मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा मोरङको पथरी शनिश्‍चरे नगरपालिका वडा नं. १ का प्रज्वल भनिने १८ वर्षीय गोकुल भण्डारी, वडा नं. ४ सम्झना चोक बस्ने २८ वर्षीय जीवन थापा, वडा नं. ९ गिरीटोल बस्ने २० वर्षीय मानव भनिने अनमोल राई, वडा नं. २ नवज्योती बस्ने २० वर्षीय आयुस रिजाल र वडा नं. २ देविगन्ज बस्ने गोरे भनिने २० वर्षीय मोहन कुमार मगर छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका वडा नं. ३ नयाँ मंगलबारेस्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं. ०१-०१-०१३ प २९० नं.को स्कूटरलाई अगाडिबाट ठक्कर दिएको थियो ।

यही बिहीवार दिउँसो भएको सो दुर्घटनामा स्कूटर चालक झापा कमल गाउँपालिका- २ बस्ने ३३ वर्षीय पवन सुवेदी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल मदन भण्डारी अस्पताल र ट्रमा सेन्टर मंगलबारे पुर्याइएको थियो । उपचारकै क्रममा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना लगत्तै ठक्कर दिने बसका चालक झापा कन्काई नगरपालिका- ३ का ३२ वर्षीय टंक प्रसाद सुवेदीलाई नियन्त्रणमा लिइएको थियो।

२०८० जेष्ठ २९, सोमबार प्रकाशित 1 Minute 344 Views

ताजा समाचार