२०८१ बैशाख २ आईतवार

तापक्रमको नयाँ रेकर्ड बनाउने चेतावनी दिइएको ‘अल निनो’ के हो ?

नेपालमा अहिले अत्यधिक गर्मीको अवस्था छ । नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगामा रेकर्ड नै ब्रेक हुने गरी अधिकतम तापक्रम मापन भएको छ ।

२६ जेठ, काठमाडौं । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशभर तापक्रम बढेको उल्लेख गर्दै सरकारको तयारीबारे प्रश्न गरे ।

विश्वव्यापी रुपमा तापक्रम बढ्ने आगामी वर्ष झन् बढेर जाने अवस्था रहेको उल्लेख गर्दै उनले सरकारलाई प्रश्न गरे, ‘यसको तत्कालीन र दीर्घकालीन समाधानका निम्त सरकारले के गरिरहेको छ ?’

सांसद पौडेलले संसदमा प्रश्न उठाएजस्तै संसारभर चरम मौसम र उच्च तापक्रमको जोखिमबारे चेतावनी दिन थालिएको छ ।

विहीबार अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले अल निनो जलवायु परिवर्तन आउन लागेको चेतावनी दिएका छन् । यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको उनीहरूको भनाइ छ ।

भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम पछिल्लो पटक सन् २०१८–१९ मा औसतभन्दा बढी तात्दा मौसमको सामान्य ढाँचामा बदलाव आएको थियो । यो अवस्था औसतमा प्रत्येक २–७ वर्षमा देखिने गर्छ ।

                                                                                          अल निनोको अवस्था

‘यसको शक्तिको आधारमा, अल निनोले विश्वका केही स्थानहरूमा भारी वर्षा र खडेरीको जोखिम बढाउने जस्ता विभिन्न प्रभावहरू निम्त्याउन सक्छ,’ एनओएएका जलवायु वैज्ञानिक मिचेल लह्युरेक्सले भनेका छन्, ‘जलवायु परिवर्तनले अल निनोसँग सम्बन्धित केही प्रभावहरू बढाउन वा कम गर्न सक्छ ।’

उनी थप्छन्, ‘पहिले नै औसत भन्दा बढी तापक्रम अनुभव गर्ने क्षेत्रहरूमा विशेष गरी अल निनोको समयमा अल निनोले तापमानको नयाँ रेकर्डहरू निम्त्याउन सक्छ ।’

यसै साता, अस्ट्रेलियाले अल निनोले भीषण डढेलोको जोखिममा रहेको क्षेत्रमा अत्यधिक न्यानो र सुख्खा मौसम निम्त्याउने चेतावनी दिएको थियो । उता जापानले पनि अल निनोले वसन्तका लागि आंशिक रूपमा तापक्रम बढाउने बताएको थियो ।

‘गर्मीयाममा संयुक्त राज्य अमेरिकामा यो घटनाको प्रभाव कमजोर हुन्छ तर शरद ऋतुको अन्त्यदेखि वसन्त ऋतुसम्म बढी प्रतिकूल प्रभाव छोड्ने देखिएको छ,’ एनओएएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

७ वर्ष अघि २०७३ वैशाखमा अल निनोको प्रभावले नेपालमा कडा खडेरी लम्बिएको थियो । यसैको प्रभावले हिउँदभर औसतभन्दा अति कम वर्षा भएको थियो भने औसतभन्दा निकै कम वर्षा भएको थियो ।

के हो ‘अल निनो’ ?

अल निनो एक प्राकृतिक मौसमी प्रक्रिया हो । प्रशान्त महाशाखाको सतहमाथिको तापक्रममा ०.५ डिग्रीभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै अल निनो इफेक्ट हो ।

वरिष्ठ मौसमविद मणिरत्न शाक्यका अनुसार दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने सिस्टम भनेको प्रशान्त महासागरमा देखिने अलनिनो र लानिनो गतिविधि हो । समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई अलनिनो भनिन्छ । यसो हुँदा दक्षिण एसियामा कम वर्षा हुन्छ ।

अलनिनोको ठिक उल्टो लानिनो हो । अर्थात् समुद्रको पानी औसतभन्दा चिसो भयो भने त्यसलाई लानिनो भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ ।

                                                                                           ला निनोको अवस्था

नेपालमा अघिल्ला दुई वर्ष ला निनोको प्रभाव थियो । त्यसबाट अत्यधिक वर्षा र बाढी पहिरो आउँदा विपत्ती ल्याएको थियो । यस वर्ष अल निनोको अवस्था छ ।

२ वा ७ वर्षमा आउने यस्तो समस्या नोभेम्बर र डिसेम्बर महिनामा सुरु भएर अप्रिलमा सकिन्छ । यो असरले सतहमाथिको भागलाई तताएर तलको चिसो पानीलाई माथि आउन दिंदैन । फलतः यसको असर जलचरमा समेत पर्छ ।

विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) का अनुसार आउँदो पाँच वर्षमा विश्वव्यापी तापक्रम १.५ डिग्रीभन्दा माथि पुग्ने दाबी गरेको छ । डब्लूएमओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण तापमान बढिरहेको बेला अल निनोले थप तापक्रम बढाउन सघाउँछ ।

अल निनोले स्वास्थ्य, खाद्य सुरक्षा, पानी व्यवस्थापन र वातावरणमा दूरगामी असर गर्ने डब्लूएमओले जनाएको छ । यसका असर न्यूनीकरण गर्न पूर्वतयारी महत्वपूर्ण हुन्छ ।

तापक्रम वृद्धिले सिर्जना गर्ने चरम मौसमी घटना तीव्र रूपमा बढाउँछ । हिमनदी पग्लने, समुद्री सतह बढ्ने, औसतभन्दा पनि कम वर्षा हुने, समुद्री तापक्रम असमान तरिकाले बढ्ने लगायतका मौसमी घटना बढ्न सक्छ । समग्रमा यसले नयाँ–नयाँ विपदको जोखिम बढ्छ ।

नेपालमा अहिले अत्यधिक गर्मीको अवस्था छ । नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगामा रेकर्ड नै ब्रेक हुने गरी अधिकतम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सबैभन्दा बढी नवलपुरको दम्कौलीमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको छ ।

तराई मधेशका धेरैजसो जिल्लाहरुमा औसत ४० डिग्री सेल्सियस तापक्रम पुग्दा जनजीवन प्रभावित भएको छ । त्यसैले जल तथा मौसम विज्ञान विभागले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विशेष बुलेटिन नै जारी गरेर आह्वान गरेको छ । अनलाइन खबरबाट

२०८० जेष्ठ २६, शुक्रबार प्रकाशित 0 Minutes 204 Views

ताजा समाचार