२०८१ बैशाख ७ शुक्रबार

झापामा लम्पी स्किनबाट १९ हजार पशु संक्रमित, २०० मरे

झापा । झापामा लम्पी स्किनबाट करिव १९ हजार पशु संक्रमित भएका छन् । त्यसमध्ये २ सय मरेका छन् । जिल्लाको अर्जुनधारा नगरपालिकाबाहेक सबै पालिकाहरुमा लम्पी स्किनको संक्रमण देखिएको हो। त्यसमध्ये गौरादह , कचनकवल , दमक , बाह्रदशी , कमलमा संक्रमण बढी देखिएको छ । एक महिनाअघि गौरादहमा सबैभन्दा बढी संक्रमण रहेकोमा अहिले कचनकवलमा संक्रमणको दर उच्च देखिएको छ ।

झापा जिल्लामा १९ हजारको हाराहारीमा पशु चौपायामा लम्पी स्किन देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भद्रपुरका प्रमुख शितल भट्टराईले बताइन् । सो भाइरल रोग अहिले सुधारोन्मूख उनले जानकारी दिइन् ।‘एक महिना अगाडिको तुलनामा अहिले संक्रमण दर सुधारोन्मूख छ’उनले भनिन् ,‘कतिपय ठाउँमा पालिकाका तर्फबाट र कतिपय ठाउँमा पशुपालक किसानहरु आफैले लम्पी स्किनविरुद्ध भ्याक्सिन लगाउन थालेका छन् ।’

उनले झापामा भन्दा इलामका पशुमा लम्पी स्किनले बढी क्षति गरेको बताइन् । इलाममा २१ हजार पशु संक्रमित भएको र ६८० वटा मरेको कार्यालयसंग तथ्यांक छ । संक्रमण बढेपछि इलामका अधिकांश पालिकाहरुले निःशुल्क रुपमा लम्पी स्किनको भ्याक्सिन लगाउन थालेका छन् । इलाम , सूर्योदय , फाकफोकथुम,देउमाई ,रोङलगायतका पालिकामा भ्याक्सिन लगाउने कार्यक्रम चलिरहेको उनले जानकारी दिइन् । झापामा अहिले करिव पचास प्रतिशत पशुहरुमा रिकोभर भइसकेको कार्यालय प्रमुख भट्टराईले बताइन् ।‘ शुरु शुरुमा एक दिनमा पाँच हजार वटालाई संक्रमण देखापर्ने गरेको थियो ’उनले भनिन्,‘अहिले निकै रिकोभर भइसकेको छ । हरेक वर्ष देखिने छालासम्बन्धी सो रोगको फैलावट यस वर्ष धेरै भएको हो ।

यसैबीच दमक नगरपालिकाले लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठ–गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो । नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि रु। १० लाख बराबरको भ्याक्सिन खरिद गरेर निःशुल्क लगाउन थालेको बताए । ‘विगत तीन बर्षअघि देखापरेको रोग अहिले महामारीकै रुपमा फैलियो’, उनले भने, ‘रोग नियन्त्रण गर्ने एक मात्र माध्यम भ्याक्सिन हो । बजेटले भ्याएसम्म निःशुल्क लगाईदिन्छौं ।’ उनले टोल विकास समितिमार्फत प्राविधिकलाई किसानको गोठ–गोठमा पुर्याएर भ्याक्सिन लगाउन निर्देशन दिइएको बताए ।
रोग नलागेका बस्तुलाई मात्र भ्याक्सिन लगाउन थालेको उनको भनाई छ । उनले नगरक्षेत्रका साढे चार हजार गाईगोरुलाई पुग्ने गरी भ्याक्सिन खरिद गरिएको बताए । दमक नगरपालिकामा लम्पी स्किन रोगबाट हाल तीन हजार बढी गाई, गोरु, राँगा, भैसी विरामी भएको उनले जानकारी दिए । उनले प्रतिभ्याक्सिन रु। २२९ का दरले खरिद गरेर किसानलाई राहत पुर्याउने उद्देश्यले निःशुल्क दिएको बताए । यसअघि जिल्लाका विभिन्न पालिकाका किसानले आफैं भ्याक्सिन खरिद गरेर पशुलाई लगाउँदै आएका छन् ।

२०८० जेष्ठ २५, बिहीबार प्रकाशित 0 Minutes 174 Views

ताजा समाचार