‘सडक मानवमुक्त राज्य’ मा एक सडक मानवको छटपटी
झापा । जहाँ उनी छन्, त्यहाँबाट धेरै टाढा छैन, सशस्त्र प्रहरीको सुरक्षा जाँच चौकी । अनि नजिकै छ, देशकै ठूलो र अत्याधुनिक क्यासिनो भेगास र पाँचतारे होटल मेची क्राउन । उनी बसेको भुईंभन्दा ठीक अघिल्तिर छ, स्थानीय जनताको ‘सिंहदरबार’ अर्थात स्थानीय सरकारको कार्यालय ।
पाँचतारे र सिंहदरबारको मध्यविन्दुमा छन् उनी । देशकै व्यस्त सडक ‘महेन्द्र हाइवे’ को एउटा पेटीमा महिनौंदेखि खुला आकाशमा भोकै–नाङ्गै छटपटाइरहेको छन् । को होलान् ऊनी ? कहाँ होला परिवार ? उनलाई कुन बाध्यताले सडकवासी बनायो होला ? कसैले किन आफ्नै मनलाई प्रश्न गरेन होला ? करिब ६ महिनादेखि उनी मेचीनगर नगरपालिका-७ आसपासमा देखिइरहेका छन् ।
महेन्द्र राजमार्ग भएर हजारौं गाडी बेतोडले हुँइकिन्छन् । त्यही पंक्तिमा स्थानीय ‘सिंहदरबार’ का ‘मालिकहरू’ पनि सुविधासम्पन्न गाडी चढेर यही बाटो गुज्रिन्छन् । तर, उनलाई कसैले किन देख्दैनन् ? देखे पनि अनदेखा गरिएको हो कि ? देखिहाले पनि मुन्टो बटारेर हिँडेका हुन् कि ! मनमा जिज्ञासा लाग्यो ।अहिलेको ४० डिग्रीहाराहारीको गर्मी । केही दिनअघिको आँधी, हुरी र असिना पानी । अलि अघिको ठिही यी अज्ञात सडक मानवले चुपचाप सडक पेटीमा बसेरै सहे । महिनौंदेखि उनी के खाइरहेका छन् ? अघिल्तिरको एनएमसी डेरीको दूध अनि दही सम्झिएरै बाँचिरहेका हुन् त ? हाम्रो ‘सिंहदरबार’ लाई खोई, सरोकार ?
नदीबाट ढुंगा, गिटी खन्ने अनि सडकमा घोप्ट्याउने सिंहदरबारको दायित्व यति मात्रै हो, मेयर साहेब ?
झापाकै जनप्रतिनिधि केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका बखत नै यो देशलाई ‘सडक मानवमुक्त’ घोषणा गरियो । तर, उनकै जिल्लाका कतिपय सडक मानवले भोक सहन नसक्दा सडकमै प्राण त्यागेका समाचार पनि बाहिरिएका थिए ।अहिले पनि ‘सर्वहाराको न्यायका लागि लड्छौं’ भन्ने कम्युनिस्टकै सरकार छ । तर, देशका विभिन्न भागमा अझै कति सडक मानव भोकभोकै सडकपेटीमा छटपटाइरहेका होलान् ? नजिकैका मेयर गोपाल बुढाथोकीहरू बेखबर छन्, प्रचण्डबाट पुष्पकमल बनेका प्रधानमन्त्री दाहाललाई के थाहा ?
सडक मानवको फोटो खिच्दै गर्दा आइपुगे नजिकै गाडी जाँचिरहेका एक जना बर्दीधारी सशस्त्र प्रहरी दगुर्दै आइपुगे । उनले हातको इसारामा बोलाए । अनि ती सिपाहीले भने,‘तपाईंले हाम्रो फोटो खिच्नु भयो कि खोई देखाउनुस् त ?’ मैले भनेँ,‘तपाईंलाई फोटो किन देखाउने ?’
अलि हेपाहा शैलीमा विवाद गर्न खोज्दै थिए, काँधमा एक तारा भिरेका सशस्त्र आएपछि उनी बाटो लागे । एकतारे बर्दीधारी बरु नम्र भावमा प्रस्तुत भए । भन्दै थिए,‘यो मान्छेको बिजोग भइसक्यो । यसलाई उद्धार गर्ने वातावरण गर्दिनु पर्यो सर ।’
राज्यकै निकायका मान्छे यति लाचार छन्, एक आम पत्रकारले सडक मानवलाई उद्धार गर्ने हैसियत कहाँ राख्न सक्ला र ! उनलाई उद्धार गर्ने त राज्यले हो नि । नत्र तीन–तीन वटा सरकार (सत्ता) का के काम ? कान्तिपुर अनलाइनबाट