२०८१ बैशाख ११ मंगलवार

माओवादी केन्द्रको बैठक : टुंगो लागेन सरकार छाड्ने विषय

विराटनगर : कोशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा सोमबार बसेको माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक निर्णयमा पुग्न सकेन।

प्रदेशसभा सचिवालयमा बसेको बैठकमा सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्ने तयारी थियो। माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले बैठकपछि दिएको जानकारीअनुसार बैठकले मंगलबार प्रदेशका नेताहरूसँग आवश्यक छलफल गरेर मात्रै निर्णय गर्ने भएको छ।

यद्यपि माओवादीले दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पहल समिति गठन गरेको छ। उक्त समितिले नयाँ सरकार गठनबारे अन्य दलहरूसँग छलफल गर्नेछ।

यसअघि जसपा सरकारबाट फिर्ता भइसकेको छ। एमाले, माओवादी, राप्रपा र जसपाका गरि ५९ सांसदको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

माओवादीका १२ र जसपाका १ सांसदले समर्थन फिर्ता लिए कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतमा पर्नेछ।

माओवादी केन्द्रबाट कार्की नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य सहभागी छन्। उनीहरू गत माघ ६ गते मन्त्री नियुक्त भएका हुन्।

उता नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलको गत जेठ ४ गते बसेको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी र जसपाले कोशी प्रदेश सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो।

यसैबीच माओवादी मन्त्रीद्वय चापागाईं र आचार्यले आजै मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका थिए। दलले तत्काल कुनै निर्णय नलिएपछि उनीहरूले मुख्यमन्त्री कार्कीलाई बुझाउन लागेको राजीनामा गोजीमै थन्किएको छ।

२०८० जेष्ठ २२, सोमबार प्रकाशित 0 Minutes 179 Views

ताजा समाचार