२०८१ बैशाख १५ शनिबार

कृषि ज्ञान केन्द्र झापाद्वारा ८० बिघामा नमुना धान खेती

झापा । कृषकलाई कृषि प्रविधिमा आकर्षित गर्न कृषि ज्ञान केन्द्र झापाले मेसिनले धान रोपाइँको तयारी गरिरहेको छ । जिल्लाका चार वटा पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । स्थानीय कृषि सहकारी संस्थाहरूसँग सहकार्य गरेर जिल्लाको बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको ५० जना कृषकको ८० बिघा क्षेत्रफलमा मेसिनले धान रोप्न बीउ राखिसकिएको छ भने १५ दिनपछि रोपाइँ सुरु हुने उनले बताए ।

“कृषकलाई प्रविधिप्रति आकर्षित गर्न प्रदर्शनीका रुपमा काम सुरु गरेका हौँ”, उनले भने, “कृषि सहकारीसँग सहकार्य गरेर काम अघि बढाएका छौँ, धेरै कृषकहरू इच्छुकसमेत देखिनुभएको छ ।”

धान रोप्ने मेसिनको प्रयोग गर्दा धानको बिउ उखेल्ने खर्च बच्नुका साथै रोपाइँको लागत घट्छ । एक बिघामा रोपाइँ गर्दा १५ जना रोपारलाई एक दिन लाग्छ भने मेसिनले रोपाइँ गर्दा आधा दिनमै रोपाइँ सकिने प्रमुख विष्ट बताउँछन् ।

मानिसले रोप्दा एक जना बराबर रु छ सय दैनिक ज्यालादारीको हिसाबले १५ जनाको रु नौ हजार लाग्ने तर मेसिनले रु चार हजार पाँच सयमा काम सकिने हुँदा कृषकको झन्डै आधा रकम बचत हुने उनको भनाइ छ । “बीउ राख्ने बेलामा खर्च लागे पनि रोप्ने बेला उखेल्ने खर्च बच्छ”, उनले भने, “कृषकलाई यसले धेरै राहत मिल्ने भए पनि प्रविधिबारे अझै अनविज्ञ र अन्योल रहेकाले प्रदर्शनीका रुपमा खेती गर्न लागेका हौँ ।”

सरकारले अनुदानमा दिएको धान रोप्ने मेसिन कृषि सहकारीहरूमा रहेका छन् । ती मेसिन प्रयोग गरे बापतको भाडा केन्द्रले तिरिदिने प्रमुख विष्टले बताए । कृषकलाई अनुदानमा रकम दिनेभन्दा प्रविधि दिने उद्देश्यले काम अघि बढिरहेको उनले बताए । कृषि ज्ञान केन्द्र झापाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत सहभागिता रहेको छ । चालू आर्थिक वर्षमा केन्द्रले उक्त कार्यका लागि रु १५ लाख बजेट समेत विनियोजन गरेको छ । यस पटक गरिएको खेती सफल भए अर्को वर्ष पाँच सय बिघामा मेसिनले धान रोप्ने कार्यालयको लक्ष्य छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत जिल्लाका विभिन्न स्थानमा सरकारले लागत सहभागितामा उपलब्ध गराएका विभिन्न कृषि उपकरणहरू केही प्रयोगमा आइरहेका छन् भने केही बिग्रिएर थन्किएका छन् । कतिपय स्थानमा कृषि औजारहरू बिग्रिएर थन्किएपछि कृषकहरू पुरानै तरिकाले खेती गरिरहेका छन् ।

२०८० जेष्ठ २२, सोमबार प्रकाशित 0 Minutes 146 Views

ताजा समाचार