सरकारले ५० लाखभन्दा बढी वार्षिक आय (मासिक ४ लाख १६ हजार तलब) हुने व्यक्तिलाई आयकरको सरचार्जलाई ३० प्रतिशत पुर्याएको छ । त्यसअनुसार अब ५० लाखमाथिको आयमा ३९ प्रतिशत आयकर लाग्ने भएको छ ।
२१ जेठ, काठमाडौं । कामकाजी नागरिकले पारिश्रमिक आयमा तिर्नुपर्ने आयकर नेपालमा यसअघि नै दक्षिणएशियामै धेरै थियो । आगामी आर्थिक वर्षको बजेटबाट सरकारले त्यसमा पुनः थप गरेको छ ।
यसअघि आयकरको अधिकतम दर ३० प्रतिशत र २० लाखभन्दा बढी आय भएकालाई थप २० प्रतिशत सरचार्ज लाग्दै आएको थियो । यसरी कुल ३६ प्रतिशत आयकर लाग्दै आएको थियो ।
सरकारले ५० लाखभन्दा बढी वार्षिक आय (मासिक ४ लाख १६ हजार तलब) हुने व्यक्तिलाई आयकरको सरचार्जलाई ३० प्रतिशत पुर्याएको छ । त्यसअनुसार अब ५० लाखमाथिको आयमा ३९ प्रतिशत आयकर लाग्ने भएको छ ।
यसै पनि दक्षिणएशियामै सबैभन्दा उच्च आयकर लाग्ने गरेकोमा त्यसमा पुनः थप्नु न्यायोचित नभएको एक चार्टर्ड एकाउन्टेन्टले बताए । ‘बजेटले अर्को पनि त्रुटि गरेको छ । तल्लो आय वर्गका करदातालाई राहत दिएर माथिल्लोलाई थपिएको भए ठीकै छ भन्न सकिन्थ्यो । तर, सरकारले उच्च आयवर्गकालाई थप भार पार्ने काम मात्रै गर्यो,’ उनी भन्छन् ।