२०८१ बैशाख ८ शनिबार

मेचीनगरका विद्यालयमा ओएसिस र आठराई पव्लिकेसनका पुस्तक, तत्काल फिर्ता गर्न निर्देशन

झापा । पाठ्यक्रम विकास केन्द्रले रद्द गरिसकेको ओएसिस र आठराई पव्लिकेसनका पाठ्यसामग्रीहरू विद्यालयहरूले पठनपाठन गराएपछि मेचीनगर नगरपालिकाले ती पाठ्यसामग्री फिर्ता गर्न निर्देशन दिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले ती पव्लिकेसनका पाठ्यसामग्री प्रयोग नगर्न र नगराउन निर्देशन दिएपछि झापाका केही निजी विद्यालयहरूले ती पव्लिकेसनका पुस्तकहरू फिर्ता गरेका थिए भने केही विद्यालयहरूले अटेर गरी नयाँ शैक्षिक सत्रमा समेत प्रयोगमा ल्याइरहेका छन् । कमिसनको प्रलोभनमा परी रद्द गरिएका पुस्तकहरू विद्यालयहरूले आफ्नो बुक लिस्टमा राखेर विद्यार्थीहरूलाई किन्न बाध्य पारेका हुन् ।

पाठ्यक्रम विकास केन्द्रको सूचनापछि अर्जुनधारा प्याव्सनले आठराई पव्लिकेसनको कक्षा ५ को रसिलो नेपाली फिर्ता गराएको छ । प्याव्सनले नगरपालिकाका सबै विद्यालयहरूमा सो पाठ्यसामग्री प्रयोगमा ल्याएको थियो । त्यस्तै बुद्धशान्तिको इरा एभर बोर्डिङ स्कुलले पनि ओएसिस पव्लिकेसनको पाठ्यसामग्री फिर्ता पठाएको छ । तर,मेचीनगरको काँकडभिट्टामा रहेको नर्थपोइन्ट अङ्ग्रेजी स्कुल , अर्जुनधारा ५ स्थित ब्राइटर इङ्लिस स्कुलजस्ता निजी विद्यालयहरूले अटेर गरी ओएसिस र आठराई पव्लिकेसनकै रद्द पुस्तकहरू पठनपाठन गराइरहेका छन् ।

त्यसप्रति ध्यानाकर्षण भएको मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी स्वीकृत र सूचीकृतबाहेकका पाठ्यपुस्तक र सन्दर्भ सामग्री प्रयोग नगर्न नगराउन नगरभित्रका विद्यालयहरूलाई निर्देशन दिएको हो । शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले ओएसिस र आठराई पव्लिकेसनका पाठ्यपुस्तक अभिभावकहरूले खरिद गरिसकेको भए फिर्ता गर्न र स्वीकृत प्रकाशनका पाठ्यपुस्तक मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । प्रतिदिन दैनिकले रद्द गरिएका ओएसिस र आठराईका पाठ्यसामग्री झापाका विद्यालयहरूले पठनपाठन गराइरहेको विषयमा समाचार प्रकाशन गरेको थियो ।

पाठ्यक्रम विकास केन्द्रले गत बैशाख २० गते सूचना जारी गरी ओएसिस पब्लिकेसन प्रा।लि। र आठराई पब्लिकेसन प्रा.लि. काठमाडौँले नयाँ लागु भएको पाठ्यक्रम अनुसारको पाठ्यसामग्री यस केन्द्रमा पेस गरी स्वीकृति पत्र लिएको र यसरी लिएको स्वीकृति पत्रसमेत समावेश गरी पुरानो पाठ्यक्रमअनुसारको सोही कक्षाको सोही विषयको पाठ्यसामग्रीमा संस्करण वर्ष २०८० राख्नुको साथै रिप्रिन्ट २०८० को छाप हानी शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई गुमराहमा पारी पाठ्यसामग्रीहरू बजारमा बिक्री वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर खेलबाड गरेको देखिन आएकोले ती पाठ्यसामग्री प्रकाशन तथा बिक्री वितरण गर्न यस केन्द्रबाट दिइएको स्वीकृति पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा ३० उपदफा ९२० बमोजिम रद्द गरी दुई वर्षसम्म स्वीकृति नदिने र उक्त पाठ्यसामग्री बिक्री वितरण नगर्न नगराउन तथा बिक्री वितरण गरिएका त्यस्ता पाठ्यसामग्रीहरू तत्काल फिर्ता गराउन सम्बन्धित प्रकाशकलाई निर्देशन दिने निर्णय गरेको थियो ।

साथै उक्त पाठ्यसामग्री प्रयोग नगर्न, नगराउन र विक्री वितरणसमेत नगर्नुहुन सम्बन्धित सबैलाई जानकारी गराएको थियो । पाठ्यक्रम विकास केन्द्रले ओएसिस पव्लिकेसनको कक्षा ६ को वन्डर इङ्लिस र इङ्लिस स्किल, कक्षा ७ को वन्डर इङ्लिस र इङ्लिस स्किल, कक्षा ४ को वन्डर इङ्लिस र इङ्लिस स्किल र कक्षा ५ को वन्डर इङ्लिस रद्द गरेको हो । त्यस्तै आठराई पव्लिकेसनको कक्षा ५ को रसिलो नेपाली पनि रद्द गरिएको पाठ्यक्रम विकास केन्द्रकी शाखा अधिकृत तारा पाण्डे तिवारीले जनाएकी छन् ।

२०८० जेष्ठ १८, बिहीबार प्रकाशित 0 Minutes 301 Views

ताजा समाचार