२०८१ भाद्र २८ शुक्रबार

एसिया कप क्रिकेट आयोजना गर्न श्रीलंकाको दाबी

१७ जेठ, काठमाडौं । एसिया कप-२०२३ क्रिकेट आयोजना गर्नका लागि श्रीलंकाले प्रस्ताव गरेको छ ।

एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तय  भए पनि भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गर्दा अनिश्चित भएको छ ।

पाकिस्तानले पनि आयोजना स्थल सार्न नमानिरहेका बेला श्रीलंकाले एसिया कप आयोजनाका लागि प्रस्ताव गरेको हो ।

सोमबार श्रीलंका क्रिकेट बोर्डले एसीसीले स्वीकृति दिए एसिया कप आयोजना गर्न आफूहरु तयार रहेको बताएको छ ।

‘श्रीलंका क्रिकेट छोटो नोटिसको आधारमा एसिया कप आयोजना गर्ने तयारीमा छ । अब यसको निर्णय एसीसीले गर्नेछ,’ सोमबार श्रीलंका क्रिकेटका अफिसियललाई उद्धृत गर्दै क्रिकबजले लेखेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलको अवसरमा भएको छलफलमा बीसीसीआई, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डले एसिया कप एउटै स्थलमा आयोजना हुनुपर्नेमा सहमति जनाएका थिए । तर, आयोजना स्थल भने तोकिएको छैन ।

पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान र यूएई दुई स्थानमा प्रतियोगिता आयोजनजा गर्ने हाइब्रिड मोडल प्रस्ताव गरेको थियो । तर, भारतीय क्रिकेट बोर्डले यसलाई अस्वीकार गर्दै आएको छ ।

क्रिकबजका अनुसार बीसीसीआई स्रोतले अब कि एसिया कप कोलम्बोमा हुने कि नहुने अवस्था रहेको छ ।

श्रीलंका क्रिकेट बोर्डले पनि बीसीसीआईलाई साथ दिएको छ र बीसीसीआईको अनुसार नै अगाडि बढ्ने जनाएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

एसीसीको आधिकारिक बैठक अर्को साता हुने सम्भावना छ । जसले एसिया कपको बारेमा अन्तिम निर्णय गर्ने अपेक्षा छ ।

आईपीएलको फाइनल अवसरमा भएको अनौपचारिक छलफलमा नेपालबाट नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतर बहादुर चन्द सहभागी थिए । ‘अनौपचारिक छलफल भएको हो । तर अन्य केही निर्णय भएको छैन ।’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको आजदेखि सुरु हुने भारत भ्रमणमा पनि क्यान अध्यक्ष चन्द समावेश हुने पाठकले जानकारी दिए र त्यस अवसरमा दुई देशबीचको क्रिकेटको विषयमा पनि कुरा हुने अपेक्षा रहेको पाठकले बताए ।

एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल पनि एकै समूहमा छ । वैशाखमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

दुई ठूला टेष्ट राष्ट्रसँग नेपालले खेल्ने अवसर पाएकोले पनि अहिले एसिया कप कहाँ हुन्छ भन्ने चासो नेपाली क्रिकेटप्रेमीलाई धेरै छ ।

अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

२०८० जेष्ठ १७, बुधबार प्रकाशित 1 Minute 159 Views

ताजा समाचार