२०८१ बैशाख ७ शुक्रबार

प्रेस क्लबको वक्तृत्वकलामा रमेश नेपाल पहिलो

मेचीनगर, १५ जेठ । प्रेस क्लब मेचीनगरको आयोजनामा आज (सोमबार) अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । क्लबले १५ औं गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र स्थापनामा प्रेसको भूमिका विषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

कार्यक्रममा मेचीनगरका आठवटा विद्यालय सहभागी थिए । प्रतियोगितामा बाल सुबोधिनी माध्यमिक विद्यालयका रमेश नेपाल ३१ अंकसहित प्रथम भएका छन् । यस्तै, कविशिरोमणि माध्यमिक विद्यालयकी उषा निरौला ३० दशमलव ३२ अंकसहित दोस्रो भइन् भने एभरेष्ट माध्यमिक विद्यालयकी सन्ध्या कट्टेल २९ दशमलव ८४ अंकसहित तेस्रो भएकी छिन् ।
प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा साहित्यकार तथा शिक्षक मिलनकुमार ढुंगाना तथा सदस्यहरुमा साहित्यकार भुवन सुब्बा खरेल र सञ्चारकर्मी हरिकृष्ण भण्डारी रहेका थिए । प्रतियोगितामा प्रथम भएका विद्यार्थी नेपालले नगद ३ हजार, दोस्रोले २ हजार र तेस्रो स्थान हासिल गर्नेले नगद १ हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रेस क्लबका अध्यक्ष डम्बर बरालको सभापतित्वमा मेचीनगरको आदर्श माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले थिए । उनले मन्तव्यका क्रममा शैक्षिक गतिविधिमा यसखाले प्रतियोगिता सञ्चालन गरिनु राम्रो भएको बताए । उनले शैक्षिक क्षेत्रमा अतिरिक्त क्रियाकलापले प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष मुक्ति पौडेल, सहभागी विद्यालयका तर्फबाट बाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस क्लबका सचिव देबु बानियाँले उद्घाटन सत्रको सञ्चालन र उपाध्यक्ष जीआर धितालले स्वागतसहित प्रतियोगिताको सञ्चालन गरेका थिए । प्रेस क्लब मेचीनगरले गणतन्त्र दिवसको महत्व बुझाउन विद्यार्थी तहमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरुले गणतन्त्रको महत्वलाई विभिन्न पाटोबाट उजागरको प्रयास गरेका छन् ।

२०८० जेष्ठ १५, सोमबार प्रकाशित 0 Minutes 110 Views

ताजा समाचार