
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले नामकरणको विरोधमा ढुंगामुढा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले जनमतबाट गर्न सकिने निर्णयका विषयमा ढुंगामुढा गर्न आवश्यक नरहेको बताएका हुन् । नामको विरोधमा प्रदेशसभा बाहिर पहिचान पक्षधर र प्रहरीबीच झडप भइरहँदा प्रदेशसभा बैठकमा भने नेताहरुले यही विषयमा धारणा राखिरहेका थिए ।

‘आन्दोलनकारीले जनमत बनाएर जनमतबाट आएर यही परिवर्तनको कुरा गरे के फरक पर्छ र ढुंगै हानिहाल्नुपर्ने’, उनले भने, ‘ढुंगा हानिहाल्नुपर्ने स्थिति मैले देख्दिन ।’
प्रदेशको नामकरणको विषय लोकतान्त्रिक ढंगले समाधान गर्नुपर्ने उनले बताए । ‘हामीले वार्ता गर्ने कुराले पनि यही लोकतन्त्र, गणतन्त्र, संघीयतालाई बलियो बनाउने कुरासँग सम्बन्धित हुन्छ, गर्नुपर्छ’, उनले भने, ‘तरिका कसरी सजिलो हुन्छ अलिकति छलफल गरौं, यसको पहलकदमी सरकारले लिनु उपयुक्त हुन्छ ।’