१४ जेठ, विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले आन्दोलनरत पक्षको माग सम्बोधनका लागि प्रदेशको नाम संशोधन गर्न माग गरेका छन् ।
आइतबार प्रदेशसभा बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका नेता राईले नामकरणको निर्णयले परिणाम राम्रो नआएको बताए ।
‘यो नामलाई सच्याऔं, परिणाम राम्रो दिइरहेको छैन’, उनले भने,‘ हिजो कोशीको पक्षमा मतदान गरेका सांसदले केही न केही अनुभूति गरेका छन् ।’
नागरिक प्रत्यक्ष सडकमा उत्रिएको बताउँदै नेता राईले उनीहरुको माग सम्बोधनका लागि पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गरे । नामको निर्णयका कारण प्रदेशसभा सदस्य आफ्नै क्षेत्रमा जान नसक्ने अवस्था आएको उनको भनाइ छ ।