२०८१ बैशाख ८ शनिबार

३ महिनापछि संसद्मा फर्किएका चन्द्र भण्डारी-जलन केसको पीडा सुनाउँदै सबैलाई दिए धन्यवाद

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् । गत फागुनमा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए ।

उनका लागि सभामुख देवराज घिमिरेले १२ मिनेट समय छुट्याएका थिए । उनलाई बसेर बोल्ने व्यवस्था मिलाइएको थियो ।आजको प्रतिनिधि सभा बैठकमा भण्डारीले आफ्नो जलन केसको पीडा सुनाएका छन् ।

जलन केसबाट मैले जुन परिस्थिति भोग्नुपर्‍यो, जुन शारीरिक अवस्थामा पुग्नुपर्यो । त्यो अवस्था धेरै नेपालीहरुले भोगिरहनु भएको छ । गत वर्ष १ सय १० जना मृत्युवरण गर्नुभएको थियो, त्यसमा मेरो आमा थपिँदा १ सय ११ पुगेको थियो । जलन केस देशभरि फैलिएको छ । हामीले जसरी विज्ञानको विकास गरौं, गाउँ गाउँमा ग्यास पुग्यो, गाउँ गाउँमा बिजुली पुग्यो ।

हामीले के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ । बच्चाहरु स्कुल जाँदा कसरी सडक क्रस गर्ने वा ग्यास कसरी बाल्ने वा बिजुली कसरी बाल्ने रु भनेर विश्वका अरु देशमा साना बच्चाले पढ्न पाउँछन् । तर हाम्रा विज्ञ, पाठ्यक्रम निर्माता कसैलाई पनि यसबारे ध्यान भएन, सांसद भण्डारीले भने ।

जलन केसमा धेरै गरिब मान्छे पर्ने गरेको भन्दै यसमा धेरै ठूलो दर्द लुकेको उनले बताए । ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्नुपर्छ । अर्को राख्नै पाइँदैन भनेपछि मर्ने केस नै कम हुन्छ । यसलाई कानुन बनाउनका लागि सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहेँ, उनले भने ।

उनले आफ्नो उद्दार गरेको सरकार, सांसद र स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे । भण्डारीले भने, मलाई रेक्यु गरी यो अवस्थामा ल्याएर बोल्ने गराउने वर्तमान सरकार, माननीय सांसद ज्यूहरु, शुभचिन्तक ज्यूहरु र स्वास्थ्यकर्मी ज्यूहरु सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु ।

भेन्टिलेटरमा गएर आफू सौभाग्यले बाँचेको भन्दै उनले नेपालमै एउटा जलन अस्पताल बनाउनुपर्ने बताए । मलाई छिमेकी देशमा पठाउँदा मैले त्यहाँ डाक्टरसँग कुरा गर्दा विगतका तीन वर्षमा तीन जना मान्छे मात्र भेन्टिलेटरमा गएर बाँचेको रहेछन्, भण्डारीले भने,त्यसमध्ये म एउटा नेपाल सौभाग्यले तपाईँहरूलाई भेट्न पाएका कारण बाचेर आएर बोल्दैछु । मैले प्रधानमन्त्रीलाई आउँदा आउँदै पनि अनुरोध गरेँ । हामीले एउटा हस्पिटल बनायौं भने एशियाको सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ ।

म कीर्तिपुरबाट भारत जाँदा निदाएको थिएँ । त्यहाँ म सात दिनपछि ब्युजिएँ । मलाई सहयोग आएको रहेछ । त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग अस्पताल बनाउने कुरामा सहयोग होस्, भण्डारीले भने ।
भारतमा गएर जलनको उपचार गराएर फर्केपछि तीन महिनामा प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गरे ।

२०८० जेष्ठ १०, बुधबार प्रकाशित 0 Minutes 116 Views

ताजा समाचार