२०८१ बैशाख १३ बिहीबार

काभा महिला भलिबल च्यालेन्ज कप : बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध नेपालको परीक्षण, बदला लिने अवसर

काठमाडौं । लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान बनाइसकेको नेपाली महिला भलिबल टिमले बुधबार सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपमा बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’बाट भारत र नेपाल दुवैले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् । आजको नतिजाले समूहको विजेता र उपविजेता टुंगो लाग्नेछ । त्यसकारण पनि आजको खेल दुवै टिमका लागि महत्त्वपूर्ण हुनेछ । किनकि, विजेता टिमले सेमिफाइनलमा तुलनात्मक रुपमा केही कमजोर टिमलाई प्रतिस्पर्धीका रुपमा पाउन सक्छ ।

समूह विजेताले अर्को समूहको उपाविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्यसकारण पनि आज दुवै टिम हार्न चाहँदैनन् ।

नेपालले भारतलाई आधिकारिक प्रतियोगितामा अहिलेसम्म हराउन सकेको छैन । २०१९ मा नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलुकद (साग)को फाइनलमा नेपालले भारतसँग पाँच सेटसम्म खेलेको थियो । भारतविरुद्ध नेपाली टिमको त्यही नै अहिलेसम्मको सबैभन्दा कडा प्रतिस्पर्धा हो । र, नेपाली टिमले त्यसपछि भारतसँग प्रतिस्पर्धा गर्न लागेको पनि यो पहिलोपटक हो ।

नेपालकी कप्तान अरूणा शाहीले आज भारतविरुद्ध दबाबमुक्त भएर खेल्ने बताइन् । उनले थपिन्, ‘‘त्यतिबेला हामी पाँच सेटसम्म पुगेर हारेका थियौँ । अहिले हामीलाई त्यस हारको बदला लिने मौका छ । आज हामी दबाबमुक्त भएर खेल्नेछौँ । फ्री भएर खेल्ने हो ।’’

साढे तीन वर्षअघि काठमाडौंमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले भारतसँग पाँच सेटको नतिजामा हारेको थियो । जुन अहिलेसम्मको सबैभन्दा राम्रो नतिजा हो । त्यतिबेला सागको तयारीका लागि नेपालले थाइल्यान्डमा झण्डै दुई साताको तयारी गरेको थियो भने थाइल्यान्डपछि बंगलादेशमा काभा खेलेर फर्किएको थियो ।

यसपटक प्रतियोगिताका लागि नेपालले तीन महिनादेखि तयारी गरिरहेको छ । तर, त्यो तयारी आन्तरिक मात्र छ । यसबीचमा नेपाली टिमले कुनै पनि विदेशी टिमसँग मैत्रीपूर्ण वा प्रतिस्पर्धात्मक खेल खेलेको छैन । नेपाली टिम पछिल्लो समय बेल्जियमका प्रशिक्षक यान डी ब्रान्ड्टको प्रशिक्षणमा छ । प्रशिक्षक ब्रान्ड्टले नेपाल भारतसँग पराजित भए पनि अहिलेसम्म आफू नहारेको बताए ।

उनले थपे, ‘‘‘नेपालले भारतसँग हा¥यो होला, तर मैले हारेको छैन । बितेको कुरा बितिसक्यो । अहिले भारतको टिममा पनि परिवर्तन भएको होला र हाम्रो टिममा पनि केही परिवर्तन भएको छ । त्यसैले भोलि नयाँ खेल हुनेछ । बंगलादेशविरुद्ध हाम्रो सेटिङमा केही समस्या देखियो । कीर्गिस्तानविरुद्ध सामान्य गल्तीहरू धेरै भएका थिए । त्यसरी नै खेल्यौँ भने भारतविरुद्ध कठिन हुनेछ । भारत शारीरिक रुपमा बलियो छ । त्यसकारण हामीले प्राविधिक रुपमा चातूर्यपूर्वक खेल्यौँ भने भारतलाई हराउन नसक्ने भन्ने हुँदैन ।”

आजको खेल

१. कीर्तिस्तानविरुद्ध बंगलादेश
२. उज्वेकिस्तानविरुद्ध काजकिस्तान
३. नेपालविरुद्ध भारत
४. श्रीलंकाविरुद्ध माल्दिभ्स

२०८० जेष्ठ १०, बुधबार प्रकाशित 0 Minutes 116 Views

ताजा समाचार