२०८१ बैशाख ८ शनिबार

प्रत्येक नेपालीको थाप्लोमा करिब ७४ हजार रूपैयाँ ऋण

काठमाडौं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रूपैयाँ नाघेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ।

कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार ८६० रूपैयाँ बराबर पर्न जान्छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख रूपैयाँ आन्तरिक र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख रूपैयाँ बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो।

चालू आर्थिक वर्ष ०७९/८० शुरु हुँदा अर्थात् गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रूपैयाँ बराबर थियो।

चालू आर्थिक वर्षको पछिल्लो १० महिना अवधिमा मात्र १ खर्ब ४० अर्ब ८२ करोड ७५ लाख रूपैयाँ बराबर ऋण थपिएको हो।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रूपैयाँलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ४० प्रतिशत बराबर देखिएको छ।

जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने देखिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा मात्र सरकारले २ खर्ब ३० अर्ब २४ करोड ६७ लाख रूपैयाँ ऋण उठाएको छ भने १ खर्ब ४३ अर्ब ४२ करोड २ लाख रूपैयाँ बराबर साँवा ब्याज तिरेको छ।

वैशाख मसान्तसम्ममा सरकारले गरेको पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब १८ अर्ब रूपैयाँ ले बढी हो। वैशाख मसान्तसम्ममा सरकारको पूँजीगत खर्च १ खर्ब २५ अर्ब ६७ करोड रूपैयाँ बराबर छ।

यसरी एकातर्फ सरकारको राजश्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ।

चालु आर्थिक वर्षको १० महिनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा १ खर्ब १० अर्ब ४२ करोड ५८ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ३२ अर्ब ९९ करोड ६२ लाख रूपैयाँ खर्चिएको छ।

आन्तरिकतर्फको साँवा रकम ६३ अर्ब ४७ करोड ४४ लाख रूपैयाँ, ब्याज ४६ अर्ब ८५ करोड ३ लाख रूपैयाँ र कमिसन रकम १० करोड ११ लाख रूपैयाँ बराबर रहेको छ।

बाह्य ऋणतर्फ साँवा भुक्तानीमा २५ अर्ब ९४ करोड ४८ लाख रूपैयाँ र ब्याज भुक्तानीमा ७ अर्ब ५ करोड १४ लाख रूपैयाँ बराबर खर्च भएको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले उठाएको आन्तरिक ऋण १ खर्ब ५९ अर्ब ५० करोड रूपैयाँ र बाह्य ऋण ७० अर्ब ७४ करोड रूपैयाँ बराबर रहेको छ। थाहा खबरबाट

 

२०८० जेष्ठ ९, मंगलवार प्रकाशित 1 Minute 118 Views

ताजा समाचार