मेचीनगर, ६ जेठ । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारी बरुण राजबंशी करेन्ट लागेर घाइते भएका छन् ।
शनिबार विहान मेचीनगर–१० स्थित लालपानीको सवस्टेशनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका हुन् ।
सवस्टेशनमा ११ हजार भोल्टेजको लाइनमा समस्या आएपछि पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लाग्दा पोलबाट भुइमा झर्दा तिघ्रामा रडले लागेर घाइते भएको धुलाबारी वितरण केन्द्रका प्रमुख सुनिलकुमार महतोले बताए ।
उनलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल लगिएको थियो । घाइते राजबंशीको अवस्थामा सुधार आएको महतोले बताए ।
दैनिक ज्यालादारी कर्मचारी रहेका घाइते राजबंशीको सम्पूर्ण उपचार खर्च कार्यालयले व्यहोर्ने महतोको भनाई छ ।
कर्मचारी करेन्ट लागेर घाइते भएपछि सवस्टेशन नजिकका गाउँलेले असुक्षित भएको भन्दै करिव ५ घण्टा विद्युत लाइन अवरुद्व गरेका थिए । गाउँलेसँग सहमतिपछि करिव १२ वजे लाइन छोडिएको केन्द्रका प्रमुख महतोले जानकारी दिए ।