२०८१ बैशाख १३ बिहीबार

दमक क्लिन पार्क : जबरजस्ती लाद्न खोजिएको गौरवको आयोजना

झापा । नेपालको भूराजनीतिक परिस्थितिले आदिमकालदेखि भारतसँगको सम्बन्ध जति सतहीबाट लचिलो छ, त्यति चीनसँग छैन । चीन आफूलाई विश्व शक्तिराष्ट्रको रुपमा परिचित गर्न चाहन्छ । चीन आफ्नो स्वार्थ सिद्धि गर्दै व्यापार वृद्धि गर्न र आफू अनुकूलको आन्तरिक र बाह्य वातावरण कायम गर्न नेपाललाई रणनीतिक ढोकाको रुपमा राख्न र प्रयोग गर्न चाहन्छ ।

चीनको ‘वान बेल्ट वान रोड’ अवधारणा अनुसार नेपालमा विभिन्न परियोजना भित्रिएका छन् । नेपालमा चीनको प्रत्यक्ष लगानीमा निर्माण गरिने भनिएको परियोजना ‘चीन-नेपाल मैत्री पार्क’ दमक क्लिन पार्क हो ।

झापा जिल्लाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको संगम पारेर निर्माण गरिने भनिएको चीन-नेपाल मैत्री पार्क पनि चीनको दक्षिण पूर्व एशियामा आफ्नो शक्ति फैलाउने रणनीतिक ढोका हुन सक्ने अनुमान गरिएको छ । सुरुमा राम्रा-राम्रा लक्ष्य र उद्देश्य बताएर प्रवेश गर्ने र कालान्तरमा त्यसैलाई हतियार बनाउन सक्ने प्रवल सम्भावना हुन सक्छ ।

तत्कालीन श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेको आग्रहमा चीन सरकारले एउटा अन्तर्राष्ट्रिय स्तरको बन्दरगाह बनाउने सम्झौता भयो । सुरु-सुरुमा श्रीलंकाली जनतालाई मिठो सपना र लोभमा पारेर राजापाक्षेले चीनसँग उक्त सम्झौता गरे । हाम्बन टोटा नाम दिइएको उक्त बन्दरगाहले श्रीलंकामा ठूलो बहस र चर्चा पाएको थियो ।

चीनको सरकारी कम्पनी ‘हार्वर इन्जिनियरिङ कम्पनी’ ले निर्माण गरेको उक्त बन्दरगाह १५०० एकड क्षेत्रमा फैलिएको छ र १८ नोवेम्बर २०१० मा यो बन्दरगाह खुल्ला गरिएको थियो । चीनको आर्थिक ऋण लगानीमा निर्माण गरिएको उक्त बन्दरगाहलाई राष्ट्रपति राजापाक्षेले आफ्नो राजनीतिक स्वार्थ सिद्धिमा जोडे । आफूले चुनावमा जनमत जित्नका लागि चीनलाई बन्दरगाहको लगानी माध्यमबाट भित्याई श्रीलंकामा ब्रम्हलुट नै मच्चाए ।

चीनको ठूलो ऋण लगानी रहेकाले उक्त ऋण तिर्न नसकी श्रीलंका सरकारले ‘हाम्बन टोटा’ बन्दरगाह १०० वर्षको लागि चीनलाई बुझाउन बाध्य भयो । आखिर चीनको गोप्य रणनीति योजना सफल पनि भयो ।

राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा राष्ट्रिय आम सहमति र स्थानीयको अर्थपूणर् सहभागिता जुटाउनु अति आवश्यक हुन्छ । राष्ट्रिय सहमति बेगर हचुवाको भरमा र चुनावी अभिमत बटुल्ने अभिप्रायले जबरजस्ती लाद्न खोजिएको गौरवको आयोजना कागजमा मात्रै सीमित रहन सक्छ ।
त्यस्तै, चीन-नेपाल औद्योगिक मैत्री पार्क पनि विभिन्न समस्यामा अल्झिएको छ । यो पार्क पनि राजापाक्षेको जस्तै मत अभिमत बटुल्न आएको ‘हाम्बन टाटा’ जस्तै त हुने होइन ? त्यसैले सिउनेले लाउनै पाउँदैन, लाउनेले देख्न पाउँदैन भने जस्तै सम्झौता गर्नेले यो पार्कको असली रुप देख्न नै पाउँदैन र देख्नेले भोग्नै पाउँदैन कि भन्ने आशंका पक्कै उब्जिएको छ ।

२०८० जेष्ठ ४, बिहीबार प्रकाशित 1 Minute 143 Views

ताजा समाचार