२०८१ बैशाख ७ शुक्रबार

बुट्टाबारी–प्याकुरेल चौक सडक खण्डको निर्माण शुरु

बिर्तामोड । बहुप्रतिक्षित बिर्तामोडको बुट्टावारि–प्याकुरेल चौक सडकको बल्ल निर्माण सुरु भएको छ । गत मङ्सिर १६ गते सम्झौता भए पनि सडकको निर्माण हुन सकेको थिएन । विश्व बैङ्कको आर्थिक सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत बिर्तामोडको वडा नं ६ , ७ र ८ जोड्ने बुट्टावारि–प्याकुरेल चौक सडकको शिलान्यास भएपछि निर्माण सुरु भएको हो । विश्व बैङ्कले अनुमति नदिँदा मेजर सिभिल वर्क थाल्न नसकिएको बिर्तामोड नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले बताए । गत मङ्सिरमा सम्झौता भए पनि सेभगार्डका लागि विश्व बैङ्कले नो अव्जेक्सन लेटर दिएर गो अहेड भन्न समय लगाएकाले काम सुरु गर्न ढिलो भएको उनले जानकारी दिए । बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईँले आज सो सडकको शिलान्यास गरेकी हुन् ।

६.२५८ किमी लम्बाई र १२.५ मिटर चौडाइ रहने सो सडक ५१ करोड २९ लाख ६१ हजार३७२ रुपैयाँमा ठेक्का लागेको हो । अर्पी/स्याप/समता जेभीले सो सडक ठेक्का पाएका हुन् । २०७९ मङ्सिर १६ गते सम्झौता भएको सो सडक सम्झौता अवधि २०८१ मङ्सिर १६ गतेसम्म रहेको छ । ७ मिटर चौडाइ कालोपत्रेसँगै सडकको दुई साइड पक्की नाली , आरसिसी ड्रेन, फुटपाथ , वाटर सप्लाई पाइपलाइन रहनेछ । सडकमा १२ वटा ह्युमपाइप रहनेछ भने सडक क्षेत्रमा परेका ९ मिटरका बिजुलीका पोलहरूलाई विस्थापित गरी ११ मिटरको गाडिने जनाइएको छ । सडकमा व्युटिफिकेसनका काम पनि हुने इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बिर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख ध्रुवकुमार शिवाकाटी, नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई , राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा माओवादीका जेबी जवेगूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।स्वागत मन्तव्य नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले गरेका थिए ।

२०८० जेष्ठ २, मंगलवार प्रकाशित 0 Minutes 348 Views

ताजा समाचार