२०८१ बैशाख ६ बिहीबार

कोशी प्रदेशमा सहमतिको सरकार बनाउन दौडधुप, कांग्रेसले केन्द्रसँग माग्यो ठोस जवाफ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा गत वैशाख ५ गतेदेखि सर्वदलीय सरकारबारे आह्वान भयो । उक्त आह्वानले ठोस आकार ग्रहण गर्दै गएको कांग्रेसका केही नेताहरुले बताएका छन् ।

मुख्यमन्त्री कार्कीले त्यसबेला भनेका थिए– मेरो प्रयास अब सर्वदलीय सरकार बनाउन हुनेछ, सबै दललाई म आह्वान गर्न चाहन्छु ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बे कोशी प्रदेश सरकारबारे केही दिनदेखि छलफलमा जुटिरहेका छन् । उनीहरुले दुई दिन अगाडि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कोशी प्रदेश सरकारको विषयमा छलफल गरे ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले नै कोशी प्रदेश सरकारको विषयमा के गर्ने भनेर पहल लिन सुझाव दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘कोशी प्रदेश सरकारको विषयमा के गर्ने भनेर उहाँहरुले प्रधानमन्त्रीज्यूसँग सुझाव माग्नु भयो, प्रधानमन्त्रीले तपाईहरुले नै पहल अगाडि बढाउनु होस् भन्नुभयो,’ आचार्यले छलफलका क्रममा भएको कुराबारे जानकारी दिए ।

त्यसबाहेक प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा राप्रपाले के गर्छ भनेर चासो राखेको कांग्रेस स्रोत बताउँछ ।

आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन प्रधानमन्त्रीले ठोस पहल गर्ने संकेत नदिएपछि कांग्रेसका महामन्त्रीद्वय थापा, शर्मा र सहमहामन्त्री आङ्देम्बेले एमाले र राप्रपासँग छलफल अघि बढाएका थिए ।

‘सहमतिको सरकार बनाउने विषयमा छलफल अगाडि बढेको बुझेको छु । कोशी प्रदेशमा प्रतिपक्षीविहीन संसद बन्लाजस्तो छ,’ कांग्रेसका एक सांसदले भने, ‘एमाले र कांग्रेसको एक चरणको छलफलबाट सहमतिको सरकार बनाउने सैद्धान्तिक सहमति भइसकेको छ । सहमतिमा हस्ताक्षर कहिले गर्ने भन्ने विषय भने खुलिसकेको छैन ।’

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धब थापाले भने नेतृत्वसँग स्पष्ट जवाफ माग गरिएको बताए । ‘प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय नजिक आइरहेको बेला कांग्रेसले सत्तापक्षको भूमिका खेल्ने कि प्रतिपक्षीको भूमिका खेल्ने ? स्पष्ट त हुनुप¥यो नि ?,’ थापाले भने, ‘हामीले यस विषयमा केन्द्रबाट स्पष्ट निर्देशन दिनुप-यो भनेका छौं ।’

सहमतिको सरकार बनाउने दिशामा कोशी प्रदेशका दलहरु लागेका हुन् ? भन्ने प्रश्नमा थापाले भने, ‘मुख्यमन्त्रीले आह्वान गरेको विषय सकारात्मक छ । त्यस विषयमा छलफल भइरहेको छ ।’

उता, सर्वदलीय सरकार गठन गर्ने विषयमा आफूलाई जानकारी नभएको माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । ‘मलाई अहिलेसम्म त्यस्तो कुनै जानकारी छैन,’ उनले भने ।

कांग्रेस संसदीय दलका नेता थापाले भने प्रदेशसभाको अंकगणित असहज प्रकृतिको रहेका कारण सहमतितर्फ दलहरु जानसक्ने पनि बताए ।

‘प्रदेशको अवस्था जटिलतातिर गइरहेको मलाई पनि थाहा छ, यस्तै अवस्था हो भने मध्यावधिमा जाने, प्रदेश खारेज गर भन्नेहरुलाई बल पुग्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न,’ थापाले भने, ‘दलहरुबीच छलफल गरौं र सहमतिमा जाऔं ।’

कोशी प्रदेशमा नेपाली कांग्रेसका २९, माओवादी (सभामुख सहित) १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । सरकार बनाउनका लागि कम्तीमा ४७ सांसद चाहिन्छ । चार दलका सांसद जोड्दा ठिक्क ४७ मात्रै पुग्छ । सरकार गठनका लागि बहुमत संख्या पुगे पनि विश्वासको मत हाल्ने बेलामा सभामुखको मत गणना नहुँदा सरकारलाई आवश्यक बहुमत पुग्दैन ।

उता, एमालेको ४० र राप्रपाको ६ हुँदा पनि प्रदेशको सरकार बन्ने अवस्था रहँदैन । जसका कारण प्रदेशसभा नै विघटनतर्फ जानसक्ने कांग्रेसलाई डर देखिन्छ

२०८० जेष्ठ १, सोमबार प्रकाशित 1 Minute 148 Views

ताजा समाचार