२०८१ बैशाख १५ शनिबार

कोशीमा सरकार फेर्न प्रधानमन्त्रीसँग कांग्रेस महामन्त्रीद्वयको भेट

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रको सत्ता गठबन्धन अनुसार कोशी प्रदेश सरकार निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छैन । जसकारण गठबन्धन सरकार बनाउने प्रयास रोकिएको छ ।

कोशी प्रदेशमा नयाँ सरकार बनाउने विषयलाई लिएर शुक्रबार कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए ।

‘कांग्रेसका दुई महामन्त्रीले कोशी प्रदेश सरकार निर्माणबारे प्रधानमन्त्रीसँग कुराकानी गर्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्ने बताउनु भएको छ ।’

काेशी प्रदेश सरकारमा मुख्यमन्त्री एमाले सांसद हिक्मत कार्की छन् भने माओवादी केन्द्रबाट जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री र दुर्गाप्रसाद चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री छन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । कांग्रेस–माओवादीसहितको गठबन्धनमा सभामुखसहित ४७ सांसद छन् । विपक्षी दल एमाले र राप्रपाका भने ४६ सांसद छन् । कोशी प्रदेश सरकारमा राप्रपा पनि सामेल रहेकाले यी दुई दलबीच अघोषित गठबन्धन छ ।

संघमा कांग्रेस, एमाले, एकीकृत समाजवादी, जसपा, लोसपासँग गठबन्धन भए पनि कोशी प्रदेशमा एमाले र माओवादी एउटै सरकारमा छन् ।

प्रदेश सभाबाट विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ढलेको खण्डमा पनि कांग्रेस–माओवादी गठबन्धनसँग सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने देखिँदैन । सभामुखले बराबर भएको अवस्थामा मात्र निर्णायक मत दिन पाउने भएकाले कांग्रेस–माओवादी सम्मिलित गठबन्धनसँग सरकार निर्माणका लागि आधार तय भइसकेको छैन ।

२०८० बैशाख २९, शुक्रबार प्रकाशित 0 Minutes 145 Views

ताजा समाचार