२०८१ बैशाख १४ शुक्रबार

चिमरियाको विवाह उत्सवमा शहिद परिवारलाई गाईदान

मेचीनगर । मेचीनगरका सामाजिक तथा राजनीतिक अभियन्ता राजन चिमरियाले आफ्नो वैवाहिक वर्षगाँठलाई सामाजिक क्षेत्रमा सहयोग गरेर मनाएका छन् । आफ्नो १९ औँ विवाह उत्सव (बैशाख २७ गते) को अवसरमा रितिका डेरी उद्योगका सञ्चालक समेत रहेका चिमरियाले एक शहिद परिवारलाई बाछीसहितको गाईदान गर्ने घोषणा गरेका छन् ।

मेचीनगर-१३ निवासी शहिद प्रेम उप्रेतीका बुवाआमा गंगा र लछिमादेवी उप्रेतीको निवासमा पुगेर चिमरियाले केही दिनमै बाछीसहितको गाईदान गर्ने बताएका हुन् । समाजसेवी चिमरियाले आफ्नो जन्मदिन र विवाह उत्सवको अवसरमा हरेक वर्ष सहयोग गर्दै आएका छन् ।
उनले गतवर्ष मेचीनगरका १५ विपन्न घर परिवारका निम्ति स्वास्थ्य विमा गरिदिएका थिए । चिमरियाले जो स्वास्थ्य बीमा गराउन नसकिरहेका परिवारका निम्ति सानो सहयोगको गरेको बताए । उनले आफ्नो विशेष दिनलाई समाजसँग जोडेर हितकारी काममा लगाएको र त्यसैलाई निरन्तरता दिने प्रयास गरिरहेको बताए ।

मेचीनगर-१२ निवासी चिमिरियाले २०६१ सालमा सुरुंगा निवासी गौरा मैनालीसँग विहे गरेका हुन् । विहे पश्चात हरेक वर्ष बैशाख २७ गते र आफ्नो जन्मदिन कात्तिक १६ गते यसरी नै सहयोग गर्दै आएका छन् ।

गतवर्ष जन्मदिनको अवसरमा उनले मेचीनगरका शहिद परिवारलाई इलामको पर्यटकीयस्थल चेप्टी घुमघाम गराएर सुखानी पार्कमा सम्मान गरेका थिए । त्यसै दिन उनले मेचीनगरका दुई सञ्चारकर्मीलाई नगदसहित सम्मान गरे ।

चिमरियाले अहिलेसम्म ५१ परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् भने क्यान्सर पीडित, मुटु रोगीहरुलाई सहयोग पनि गरेका छन् । उनलाई असल कृषकको रुपमा धुलाबारी जेसीजले सम्मान गरेको थियो । उक्त सम्मानबाट प्राप्त रकम समाजसेवी चिमरियाले किड्नी पीडितलाई सहयोग गरेका थिए । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उनले सहयोग समर्पित गर्दै आएका छन् ।

२०८० बैशाख २८, बिहीबार प्रकाशित 1 Minute 192 Views

ताजा समाचार