२०८१ बैशाख १ शनिबार

ढिला भयो तर जरुरी छ गगन–विश्वको विद्रोह – ‘बदनामी’को भारी कति बोक्ने !

काठमाडौं । वर्ष २०८० को सुरुवातले परिवर्तनको राम्रै संकेत गरेको छ ।  तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचन र मुलुककै बदनामी हुने ‘सरकारकै अगुवाइमा भएको दलालीकरण’ अर्थात् नक्कली भुटानी शरणार्थी प्रकरणमा को, कतिबेला कहाँ पुग्ने हुन् कसैले अनुमान लगाउन सक्दैनन् ।

लहरो तान्दा पहरो गर्जिएको छ यो काण्डमा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बालकृष्ण पत्नी मञ्जु खाण, सुजाता कोइरालासहित नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव टोपबहादुर रायमाझीसहित सरकारका सचिव, उच्च पदस्थ अधिकारीसमेत यस प्रकरणमा मुछिएका छन् ।

पूर्वमन्त्री खाण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित ११ जना पक्राउ परिसकेका छन् भने रायमाझीसहित केही व्यक्ति फरार छन् ।  यस प्रकरणमा जनस्तरमा जति समर्थन देखिएको छ त्यति नै आशंका पनि छ ।

‘आफ्ना लागि’ जस्तोसुकै नीति परिवर्तन गराउन सक्ने हैसियत भएका नेता तथा अधिकारी यस प्रकरणमा मुछिएकाले सामसुम हुने डर पनि उत्तिकै छ । अझ शीर्ष नेताको लगातारको दौडधुपले यस प्रकरणलाई पनि ‘३३ किलो सुनकाण्ड’ बनाउने त होइनन् भन्ने आशंका जनस्तरसम्मै छ ।

‘नक्कली भुटानी शरणार्थी’ प्रकरणलाई टुंगोमा पुर्‍याउने हो भने जनस्तरबाटै दबाब जरुरी देखिन्छ । यही प्रकरण चर्किएकै बेला लोकप्रिय मतका साथ कांग्रेस महामन्त्रीमा निर्वाचित गगन थापाले सामाजिक सञ्जालमा राखेको एउटा स्टाटसले तरंग सिर्जना गरेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरु मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरैपटक लाग्यो प्रतिरोध गरुँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरुलाई सम्झाएँ तर अब त अति भयो !

मनभित्र भएको उकुसमुकुस उनले सामाजिक सञ्जालमार्फत् व्यक्त गरे जुन जरुरी थियो ।  सामाजिक सञ्जाल अहिले व्यक्तिको लोकप्रियता जाँच्ने माध्यम बनेको छ । स्थानीय तहको चुनाव होस् या आम निर्वाचन, उपनिर्वाचनसम्म हेर्दा सामाजिक सञ्जालमा देखिएको उभार निर्णायक देखिएको छ ।

थापाले राखेको उक्त स्टाटसमा प्रतिक्रिया जनाउने अधिकांशले विद्रोहका लागि अघि बढ्न दबाब दिइरहेका छन् । अर्थात्, जनस्तर नै अहिले विद्रोहका लागि तयार छ ।  सम्भवतः ‘चतुर’ थापाले पनि यस्तै प्रतिक्रियाका लागि आफ्नो विचार प्रक्षेपण गरेका हुन सक्छन् ।

कसरी विद्रोहको ‘मुड’मा पुगे थापा ?

कांग्रेस महामन्त्री थापा आफैँ विद्रोही स्वभावका हुन् । विसं २०६३–६३ को जनआन्दोलन होस् वा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको संघर्ष । विद्रोह गरेरै अघि बढेका हुन् ।

हुन त वर्तमान सभापति शेरबहादुर देउवाको भन्दा फरक प्यानलबाट महामन्त्रीमा उमेदवारी दिएर होस् वा संसदीय दलको नेतामा देउवाविरुद्धमा उमेदवारी दिएर होस् उनले आफ्नो विद्रोही चेत प्रदर्शन गरेका थिए, तर पुगेन !

कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् ।

बैशाखको सुरुका दिन चितवन र तनहुँमा चुनावी माहोल निकै तातेको थियो । दुई महामन्त्रीलाई सभापति देउवाले एक एक निर्वाचन क्षेत्रको कमान्ड सम्हाल्ने जिम्मेवारी दिएर खटाएका थिए । दुई महामन्त्रीलाई मैदानमा उतारेपछि उपनिर्वाचन प्रतिष्ठाको लडाइँमा परिणत भएको थियो ।

उमेदवार जो जो भए पनि रवि लामिछाने भर्सेस् विश्वप्रकाश शर्मा र स्वर्णिम वाग्ले भर्सेस् गगन थापा मैदानमा उत्रिएको जस्तो देखिन्थ्यो । दुवै महामन्त्री प्रतिष्ठाको लडाइँमा पराजित भए । विश्लेषकहरु भन्छन्– यो पराजित कांग्रेसप्रति मतदाताले देखाएको असन्तुष्टि हो ।

आक्रामक महामन्त्रीहरु रक्षात्मक हुने अवस्थामा त पुगेकै थिए पार्टी नेतृत्त्वको शैलीले दिक्दारीमा पनि पुगे । दुवै महामन्त्रीहरु तनहुँमा खटिएकै बेला सभापति देउवाले चितवनका आफ्ना उमेदवार जितनारायण श्रेष्ठलाई टेलिफोन गरेर ‘तयारी अवस्थामा बस्नू, जतिबेला पनि उमेदवारी फिर्ता गर्नुपर्ने हुन सक्छ’ भनेका थिए ।

नेकपा (एमाले)सँग अन्तिम समयमा चुनावी गठबन्धन गर्ने देउवा तयारी थियो । तनहुँमा रहेका महामन्त्रीद्वयलाई पनि सभापति देउवाले टेलिफोन गरेर यस्तो निर्णय गर्न लागिएको जानकारीमात्रै गराए । त्यसपछि दुवै महामन्त्रीले सभापतिलाई भने– यहाँको माहोलले चुनाव त हारिएलाजस्तो छ तपाईँको निर्णयले राजनीति पनि हारिन्छ । यो निर्णय पार्टी, गठबन्धन र सिंगो प्रणालीका लागि महँगो पर्न सक्छ । एक दुई क्षेत्रमा चुनाव हारिँदैमा केही फरक पर्दैन तर राजनीति नहारौँ ।

दुई महामन्त्रीले तनहुँबाट र सरकारमा सहभागी भइसकेका उपसभापति पूर्णबहादुर खड्काले काठमाडौंबाट दबाब सिर्जना नगरेको भए कांग्रेस र एमालेबीच तयार पारिएको ६ बुँदे सम्झौतामा हस्ताक्षर भइसक्थ्यो ।

थापा आफ्ना ‘अति निकट’ मानिएका वाग्लेको निर्णय र त्यसले दिएको सन्देशप्रति चिन्तित थिए । विसं २०७९ फागुनको पहिलो दिन काठमाडौंको एक होटलमा वाग्लेले कांग्रेसका पाँच नेतालाई ‘कफी मिटिङ’मा बोलाएर आफू चितवनबाट उपचुनाव लड्न चाहेको धारणा राखेका थिए ।

देउवासँगको दूरी रहेका वाग्लेले आफू निकटका नेताहरुसँग राखेको चाहनामा थापाबाहेकका सबै सहमत थिए । हारिने चुनावमा देउवाबाट टिकट लिन पनि गाह्रो नपर्ने उनीहरुको बुझाइ थियो । तर थापाले मानेनन् । वाग्लेलाई सम्झाए– चुनाव हारिन्छ भन्ने जान्दाजान्दै तपाईँ जानै हुँदैन ।

वाग्ले ‘चुनाव हारिने’ कुरासँग सहमत हुनै सकेनन् । चितवनमा चुनाव जित्न सक्ने फेहरिस्त सुनाए तर थापा सहमत हुनै सकेनन् । उसो त थापाले मंसिरमा भएको निर्वाचनमा वाग्लेका लागि काठमाडौं ४ आफ्नै निर्वाचन क्षेत्र छाड्न तयार भएका थिए ।

त्यही ‘कफी मिटिङ’ ले एउटा सर्भे गराउने निष्कर्ष निकाल्यो र एक गैरसरकारी संस्थालाई त्यसको जिम्मेवारी दिइयो । सर्भेले कांग्रेस नराम्रोसँग हार्ने देखायो त्यसमा स्वर्णिम उमेदवार हुँदा केही प्रतिशतमात्रै मत बढ्ने तर घण्टीलाई जित्न नसक्ने देखायो ।

त्यसपछिमात्रै वाग्ले घण्टीबाटै चुनाव लड्न चितवन नभए तनहुँबाट पनि भन्ने निष्कर्षमा पुगेका थिए । जानकारहरु भन्छन्– त्यस्तै खालको सर्भे तनहुँमा पनि गरिएको थियो ।

कांग्रेस नहार्ने अनुमान गरेका धेरैलाई तनहुँमा बजेको घण्टीको स्वरले चकित बनायो । तर देउवाले यो जानेरै एमालेसँग साँठगाँठ गर्ने, सत्तापक्ष र प्रतिपक्ष सबै एकैठाउँ भए पछि ‘जसरी पनि चुनाव जित्नुपर्ने’ निष्कर्ष निकालेका थिए ।

चुनावले के सन्देश दियो भने अब सक्किन तयार हुनुपर्छ तर त्यसभन्दा अगाडि एउटा जबर्जस्त विद्रोह हुन सक्यो भने रोक्न पनि सक्छ । संसदीय व्यवस्थामा चुनाव र प्राप्त मत परिणामले ठूलो अर्थ राख्छ ।  भारतीय चुनावी रणनीतिकार प्रशान्त किशोरका अनुसार चुनावी रणनीतिका लागि चार महत्त्वपूर्ण विशेषता छन् । म्यासेन्जर, म्यासेज, मेसिन र मेकानिक्स ।

विसं २०४८ सालको चुनावपछि कांग्रेसका यी विशेषता खिइँदै भुत्ते हुँदै गएका छन् ।  गणेशमान, किसुनजी, गिरिजाप्रसादजस्ता ‘टावरिङ पर्सनालिटी’ केन्द्रमा छैनन्, विकास र सुशासनको नारा पत्याउने अवस्था छैन ।  आफूले बोकेको भारी कसको हो भन्ने नेतृत्त्वलाई ज्ञानै छैन । पार्टी कार्यकर्ता परिचालन गर्ने संयन्त्र छैन । चुनावी रणनीति छैन । भएका कार्यकर्ता नेतृत्त्वको शैलीसँग सहमत छैनन् । माहोल बनाइदिने जमात छैन ।

सरसरती हेर्दा कांग्रेस इतिहासको निकै कमजोर अवस्थामा पुगेको छ ।  यस्तो पार्टीका महामन्त्रीद्वय कतिसम्म बाँधिएका छन् भने प्रतिनिधि सभाको बैठकमा अर्को बेन्चबाट विपक्षीले पार्टी सभापति, पत्नी र परिवारप्रति चर्को आलोचना गर्दा न बचाउने नैतिकता छ न त प्रतिरोध गर्ने क्षमता ।

पार्टीभित्रका ‘पम्फादेवी’हरूसँग कोही लडेका छन् भने दुई महामन्त्री नै लडेका छन् तर बाहिर उनैसँग जोडेर ‘देवरबाबु’को पोस्टर सार्वजनिक भइरहेको छ । कांग्रेसको मात्रै होइन, गठबन्धनका नेताको कमजोरीको भारी बोक्ने अवस्थामा महामन्त्रीद्वय पुगेका छन् ।

पार्टीका सांसदको अडियो प्रकरण आउनासाथ रास्वपाले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठलाई ७२ घण्टाभित्र छानबिन गरेर निलम्बन गर्यो । त्यतिमात्रै होइन पार्टीबाटै हटाइदियो । तर कांग्रेसमा पूर्वगृहमन्त्रीसहित दुई दुईजना सांसदलाई करोडौं रुपैयाँ घुस बुझाएको अडियो काण्ड सार्वजनिक भइसक्दा पनि पार्टीमा छलफलसम्म भएन । कारबाही त सोच्न पनि नसक्ने विषय बन्यो ।

चौधौं महाधिवेशनमा पहिलो चरणबाट हारेर प्रकाशमान सिंह र विमलेन्द्र निधि देउवाको समूहमा पुग्दा गगन समूह नै विपक्षमा थियो ।

त्यसलगत्तै बसेको पार्टी केन्द्रीय समितिको बैठकमा सरकारले गरेका नियुक्ति, एमसीसी, अर्थमन्त्री र गभर्नरबीचको विवादमा पार्टीको भूमिकालगायतका विषयमा छलफल गराउन सफल महामन्त्रीद्वय बिस्तारै किनारामा पारिँदै गए ।

त्यसपछिका केन्द्रीय समितिको बैठकमा उनीहरुका एजेन्डाले स्थान पाउन सकेन अर्थात् पारित हुने अवस्थासम्म पनि आएन । चुनावअघिको गठबन्धन पार्टीका लागि घातक हुने भनेर अन्तिमसम्म राखेको अडान टिकेन ।

गठबन्धन नै गर्दा पनि चितवनमा गर्न नहुने अडान राखे त्यो पनि पारित हुन सकेन ।

स्थानीय तहदेखि संसद्को निर्वाचनसम्म युवालाई टिकट दिन दबाब बढाइरहे नेतृत्त्व सुनेको नसुने झैँ गरी अघि बढिरह्यो । समानुपातिक सूची नसच्याए विद्रोह गर्ने चेतावनी दिएपछि अन्तिममा सूची सच्याउन नेतृत्त्व बाध्य भयो ।

संसदीय दलको नेतामा आफूसँग प्रतिष्पर्धा गरेका थापालाई सहयोग गरेको सजाय विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरूले पाइरहेका छन् । उनीहरूका लागि सभापति निवासको ढोका बन्द गरिएको छ ।

पार्टीलाई सुधार्ने र सच्याउने महामन्त्रीहरूको प्रयासमा सभापति देउवा त बाधक छन् नै देउवासँग जोडिएका उनीपछिका नेताहरूले झन् बढी अप्ठेरो पार्न सक्छन् । उनीहरू उमेरसमेतका कारण थापा वा शर्मालाई नेता मान्न त सक्तैनन् नै पार्टीमा सुधारका लागि सहकार्य गर्न पनि तयार देखिँदैनन् ।

निधि र सिंह त सभापतिमा देउवालाई समर्थन गरेरै पार्टीमा सुधारको विपक्षमा उभिए । ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्कामात्र आफ्नै गुटका केही प्रभावशाली नेतासमेत गगन–विश्वको साथमा देखिँदैनन् । डा. शेखर कोइराला, डा. शशाङ्क कोइरालाले समेत गगनलाई विद्रोहमा साथ दिनुभन्दा देउवासँग मिलेर सत्तामा साझेदारी गर्न रुचाउन सक्छन् ।

स्पष्ट छ, पार्टीभित्रैबाट नेतृत्त्व हटाउने क्षमता र मत अहिले महामन्त्रीद्वयमा तत्काल छैन र निकट भविष्यमा पनि हुने लक्षण देखिँदैन । यस्तो अवस्थामा आवश्यक परे कार्यकर्ताको साथ लिएर भ्रष्टाचारविरुद्धको अभियानको यो अवसरलाई छोपेर जनताकहाँ जानुको विकल्प छैन ।

कांग्रेसका सामान्य कार्यकर्ताले त नयाँ कांग्रेस निर्माणमा साथ देलान् नि ! बाह्रखरीबाट

२०८० बैशाख २८, बिहीबार प्रकाशित 0 Minutes 196 Views

ताजा समाचार