२०८१ बैशाख १४ शुक्रबार

जेठ ४ बाट मेचीनगरमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता

मेचीनगर, २७ वैशाख । मेचीनगरमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्लास्तरीय अन्तर विद्यालय छात्र-छात्रा क्रिकेट प्रतियोगिता हुने भएको हो ।

मेचीनगर-६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयले सहभागिता जनाउने बुधबार झापा जिल्ला क्रिकेट संघको कार्यालय इटाभट्टामा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ ।

छात्रतर्फ १२ र छात्रातर्फ ७ विद्यालय सहाभागी हुने प्रतियोगितामा छात्रतर्फको खेल १५ ओभरको रहनेछ भने छात्रातर्फको खेल १० ओभरको खेल सञ्चालन हुने खेलबारे जानकारी दिँदै मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमश नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट किपर र उत्कृष्ट क्याचका रुपमा खेलाडी छनोट गरी अवार्ड प्रदान गरिनेछ ।

स्थानीय स्तरका खेलाडीहरुको प्रतिभा, क्षमतालाई विकास गर्दै राष्ट्रिय खेलाडीका रुपमा चिनाउने उद्देश्यका साथ २०५२ सालमा स्थापना भएको यस क्लबले ५४ सालदेखि बार्षिक रुपमा निरन्तर क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यसबर्ष पनि सोही बार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा यसै क्षेत्रमा निरन्तर अभ्यास गर्दै क्रिकेट क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल खेलाडीहरु रुविना क्षेत्री, काजल श्रेष्ठ, अप्सरा बेगम लगायतको पनि प्रत्यक्ष सहभागिता रहने खेल संयोजक स्मृति कट्वालले बताइन् । जेठ ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा छात्रातर्फको टिमलाई भने प्रवेश शुःल्क नलाग्ने अर्की खेल संयोजक निशा शाहले जानकारी दिइन् ।

२०८० बैशाख २७, बुधबार प्रकाशित 1 Minute 243 Views

ताजा समाचार