२०८१ बैशाख ८ शनिबार

पाथीभरा दर्शन गर्न जाँदा हराएका अर्जुनधाराका पुरुष मृत फेला

अर्जुनधारा । पाथीभरा जाने क्रममा गत २२ गते बिहानदेखि बेपत्ता झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली मृत भेटिएका छन् ।

६० वर्षीय पराजुलीलाई खोजतलास गर्ने क्रममा मंगलबार बिहान जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार माथिल्लो फेदीदेखि करिब अढाई/तीन किलोमिटर उत्तरपट्टिको जंगल क्षेत्रमा उनको शव भेटिएको हो । परिवारका सदस्यसहित पाथीभरा दर्शनका लागि गएका उनलाई माथिल्लो फेदीदेखि मान्छेलाई पिठ्यूँमा बोकाएर लगिएको थियो ।

शौचालय जान भन्दै जंगलतर्फ पसेका उनी नफर्किएपछि खोजी भएको हो । उनको परिवार भने पूजापाठ गर्न दुई दिन अघिदेखि नै मन्दिरमा रहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनलाई पूजा समापनको दिन पुग्ने गरी लगिएको थियो । उनी हराएर खोजतलास गर्दा नभेटिएपछि परिवारका कतिपय सदस्य झापा पुगेर सोमबार फेरि आएको प्रहरीले बताएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थलको अध्ययन गरी शव उठाउने र पोस्टमार्टम गर्ने प्रक्रियामा जाने प्रहरीले जनाएको छ ।

२०८० बैशाख २६, मंगलवार प्रकाशित 1 Minute 189 Views

ताजा समाचार