२०८१ बैशाख ८ शनिबार

‘क्यान्टोनमेन्ट’ घोटालाको फाइल खोलेर चोखो प्रमाणित गर्न प्रधानमन्त्रीलाई लिङदेनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरू खोले सरकारलाई आफ्नो दलको समर्थन हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन् ।

सरकारले राजनीतिक स्वार्थ नराखी नक्कली शरणार्थी प्रकरणका आरोपितलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने उनले उल्लेख गरे । उनले वाइडबडीकाण्ड, ललिता निवास, एनसेल र ‘क्यान्टोनमेन्ट’ घोटालाकाण्डको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

“नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । अहिले केही मानिसहरू पक्राउ परेका छन् । एकपछि अर्को उच्चपदस्थ मानिसहरूको नामहरू आइराखेका छन् । म यहीँबाट सरकारलाई भन्न चाहन्छु– यो छानबिनको क्रम, यो कारबाहीको क्रम जसरी अगाडि बढेको छ, विगतका वाइडबडीकाण्ड, ललिता निवास, एनसेलकाण्डजस्तै यो काण्ड सेलाएर जानु हुँदैन । यो देखाउनका लागि मात्रै हुनु हुँदैन,” उनले भने, “यदि, पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडि बढाउनुभएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ । र, उहाँले यो मात्रै होइन, फेरि पनि भन्छु– अब वाइडबडीकाण्डको फाइल खोल्नुपर्छ । एनसेलको फाइल खोल्नुपर्‍यो । ललिता निवास जग्गा प्रकरणको फाइल खोल्नुपर्‍यो । प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ । क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्‍यो । तर, भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइँदैन यो कुरालाई ।

अध्यक्ष लिङदेनले देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा रहेको भए पनि सरकारले त्यो सुधार गर्ने कुनै कदम नचालेको टिप्पणी गरे ।

“देश कुनै पनि बेला आर्थिक हिसाबले टाट पल्टन सक्ने अवस्थामा छ । अहिले राजस्व जति उठ्छ, त्यतिले चालु खर्च पनि धान्न सकिएको अवस्था छैन । राजस्वले कर्मचारीलाई तलब खुवाउन पनि पुग्ने अवस्था छैन । ऋण काढेर अहिले कर्मचारीलाई तलब खुवाउनुपरेको अवस्था छ,” उनले भने, “८० अर्बभन्दा बढी निर्माण व्यवसायीहरूलाई राज्यले दिनुपर्ने भुक्तानी नै पुगिसकेको छ । यो अर्थतन्त्रलाई सुधार गर्ने दिशातर्फ सरकारका कुनै कदमहरू छैन । सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा छ । आगामी यात्रा सरकारको के हो भन्ने कुरा कसैले पनि बुझ्न सकिँदैन । आर्थिक अवस्था दिनदिनै ओरालो लागेको अवस्था छ ।”

उनले देशमा विदेशी हस्तक्षेप बढेको पनि बताए ।

२०८० बैशाख २४, आईतवार प्रकाशित 0 Minutes 135 Views

ताजा समाचार