२०८१ बैशाख १४ शुक्रबार

महामन्त्री शर्माले भने–सरकार अस्थिर भएपनि देशको नीति स्थिर हुनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा नीतिगत स्थिरता हुनुपर्ने बताएका छन् । महामन्त्री शर्माले संसदको स्थिरता सँगसँगै देशमा नीतिगत स्थिरता पनि आवश्यक रहेको बताएका हुन् ।

उनले आगामी पाँच वर्ष संसद् स्थिर रहने भएपनि सरकार अस्थिर रहने अवस्था रहेको उल्लेख गर्दै नेपालले नीतिगत सुनिश्चितताको बाटो रोज्नुपर्ने बताए । सरकार फेरबदल भइरहेपनि देशले हिँड्ने बाटो स्पष्ट हुनुपर्ने बताए । देशमा सम्भावनासँगै चुनौती पनि रहेको उनले उल्लेख गरे । देशमा राम्रा काम भएपनि राजनैतिक अस्थिरताले सबैलाई विद्रोही बनाएको उनले उल्लेख गरे ।

महामन्त्री शर्माले देशले भोगेको आर्थिक मन्दी र राजनैतिक उत्तारचढावले झनै चुनौती थपेको बताए । संविधान स्थिर भएपनि त्यसले बनाउने सरकार स्थिर हुन नसक्ने यथार्थ नेपालमा रहेको उल्लेख गर्दै देश विकासमा नीतिगत स्थिरता दिनसके सरकारहरु बदलिए पनि समग्र विकासमा असर नपर्ने उनको ठम्याइ छ ।

सरकार बदलिए पनि देशको नीति स्थिर हुनुपर्छ

न्युज एजेन्सी नेपालको विशेष श्रृंखला ‘मेरो विचार, मेरो दृष्टिकोण’ को लागि कुरा गर्दै शर्माले देशको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि नीतिगत सुनिश्चिता गर्नुपर्नेमा जोड दिए ।  उनले मन्त्री फेरिएसँगै देशको नीति बदलिनु नहुने बताए । उनले  नेपालले छिमेकी मुलुकहरु चीन र भारतका साथसाथै अमेरिकासँग समेतको सम्बन्धलाई एक ठाउँमा गाँसेर जान जरुरी रहेको उनले बताए ।

व्यवसायिक वातावरण बनाउन नीतिगत सहजता

महामन्त्री शर्माले देश भित्रको औद्योगिक विकास र व्यवसायिक वातावरण निर्माण गर्न सरकार नीतिगत रुपमा सहज बनिदिनुपर्ने बताए । सरकारले सबैकुरा आफैँले ओगटेर राख्ने भन्दा पनि निजी क्षेत्रलाई प्रोत्साहन हुनेगरी खुकुलो बन्न आवश्यक रहेको बताए ।

मल अभावको समस्या समाधान गर्न मल आयात तथा बिक्री, वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्ने उनले बताए ।  उनले मल सरकारले जि टु जि प्रणालीमार्फत आफैँले ल्याउनु आवश्यक नरहेको बताए । त्यसैगरी डिजेल र पेट्रोलको बिक्री वितरणमा पनि निजी क्षेत्रलाई भित्राउनुपर्ने धारणा उनले राखे ।

आवश्यकताका आधारमा ठूला परियोजना छनोट

महामन्त्री शर्माले कुनै नेताको लहडको भरमा कुनैपनि परियोजनाहरु अगाडी बढाउनु नहुने बताए । देशको तात्कालिक आवश्यकता र दीर्घकालीन आवश्यकताका आधारमा ठूला परियोजना छनोट गर्नुपर्ने बताए । राजनैतिक नेतृत्वले आफ्नो स्वार्थ पूरा हुने र चुनाव जित्नको योजना बनाउने लहडले अन्तर्राष्ट्रिय ऋणको पासोमा पर्न सक्ने जोखिम रहेको बताए ।  उनले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल एकैपटक आवश्यक नभएको बताए । उनले यी दुई ठाउँमध्ये एक ठाउँमा मात्रै विमानस्थल बनाउँदा राम्रो हुनेमा नेताको लहडले दुवै योजना बनेर पनि काम आउन नसक्ने अवस्थामा पुगेको धारणा राखे । उनले पोखरा र भैरहवाको विमानस्थल प्रभावकारी रुपमा सञ्चालन नभएको उल्लेख गरे ।

सामाजिक निराशा हटाउन सबैले काम गरौं

महामन्त्री शर्माले अहिलेको अर्को ठूलो चुनौती समाजमा व्याप्त निराशा र नकारात्मकता भएको टिप्पणी गरे । सबैजना सबैसँग नकारात्मक बनिरहेको उनले बताए । देशको भौतिक विकाससँगै सामाजिक भावनात्मक विकासमा समेत लगानी गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । समाज बनिरहेको देख्न छोडेर भत्किरहेको हल्लामा दौडिन थालेको उल्लेख गर्दै महामन्त्री शर्माले सकारात्मकताको लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताए । राजनैतिक क्षेत्रमा केही आवेगले समाजमा व्याप्त निराशालाई बढाउने काम गरिरहेको उल्लेख गर्दै उनले सबै नागरिकले बनिरहेको हेर्न नखोजिरहेको बताए ।

राजनैतिक पूर्वाग्रह त्यागौँ

महामन्त्री शर्माले भर्खरै सम्पन्न भएका निर्वाचन अगाडी र पछाडि देखिएका राजनैतिक उत्तारचढावले कोही स्थायी शत्रु र मित्र नभएको प्रमाणित गरेको बताए ।

महामन्त्री शर्माले मुलुक र राजनीति तात्कालिक राजनीतिबाट अगाडी बढ्ने भएकोले पूर्वाग्रह राख्न नहुने बताए । राजनैतिक दलहरुबीच कुनैपनि विषय द्वन्द्वको विषय नहुने पनि स्पष्ट पारे ।

२०८० बैशाख २३, शनिबार प्रकाशित 0 Minutes 121 Views

ताजा समाचार