२०८१ बैशाख ८ शनिबार

भोलि हुने नेपाल र यूएईबीचको फाइनलमा दर्शकलाई नि:शुल्क प्रवेश

काठमाडौं । वर्षाका कारण ‘रिजर्भ डे’मा सरेको एसीसी प्रिमियर कपको फाइनल खेलका लागि दर्शकले त्रिवि क्रिकेट मैदानमा नि:शुल्क प्रवेश पाउने भएका छन् । सोमबार भएको नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल वर्षाले बिथोलेपछि मंगलबारका लागि सारिएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दूर्गाराज पाठकले भोलिको खेलका लागि दर्शकहरूले त्रिवि क्रिकेट मैदानमा नि:शुल्क प्रवेश पाउने बताए ।

वर्षाका कारण खेल रद्द हुनुअघि सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको थियो । वर्षाका कारण रद्द भएको खेल भोलि (मंगलबार) यही अवस्थाबाट बिहान नौ बजेदेखि सुरु हुनेछ ।

२७.३ ओभरसम्मको खेल सकिँदासम्म यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन लक्राले १३, कप्तान मुहम्मद वसिमले ११ र बसिल हमिले १० रन बनाएका थिए । यसबाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

यूएईविरुद्ध कसिलो बलिङ गरेको नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिएका थिए । करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

 

२०८० बैशाख १८, सोमबार प्रकाशित 1 Minute 186 Views

ताजा समाचार