२०८१ बैशाख १५ शनिबार

‘कोशी’ नामको विवाद राजनीतिक रुपले समाधान गर्नुपर्छ : आङ्देम्बे

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले ‘कोशी’ प्रदेश नामकरण भएपछि सिर्जित घटनाक्रमलाई राजनीतिक रुपले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । आङ्देम्बेले नेपाल प्रेस युनियन पाँचथर शाखाको छैटौं अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताएका हुन् ।

प्रदेशमा पछिल्लो पटक सिर्जित विरोध र प्रतिवादका घटनाले राजनीतिक दल र नागरिक समाज ध्रुवीकरणको दिशातर्फ उन्मुख भएको भन्दै आङ्देम्बेले हिंसा भड्किन नदिन सबै राजनीतिक दल र शीर्ष नेतृत्व सचेत हुनुपर्ने बताए । समस्या समाधानका लागि संवाद गर्न राजनीतिक संयन्त्र बनाउनुपर्ने उनको धारणा थियो ।

पहिचान पक्षधरहरुको आवाजलाई दबाउन खोज्नु जायज नहुने भन्दै आङ्देम्बेले समस्या समाधानका लागि संवादको वातावरण बनाउनु पर्ने दोहोर्‍याए ।

पछिल्लो साता एमाले अध्यक्ष केपी शर्मा ओलीको कोशी प्रदेश भ्रमणका क्रममा पहिचान पक्षधरले गरेको विरोध र एमालेले गरेको प्रतिरोधका घटना दल र नागरिक समाजलाईध्रुवीकरण गर्ने उदाहरण भएको उनको भनाइ थियो । ठूलो दल भएका नाताले समस्या समाधानका लागि कांग्रेसले संवादको पहल गरिरहेको पनि उनले स्पष्ट पारे ।

फागुन १ गते साबिकको प्रदेश नम्बर १ लाई प्रदेशसभाको दुई तिहाइ बहुमतले ‘कोशी’ नामकरण गरेको थियो । यसअघि प्रदेशलाई ‘लिम्बूवान किराँत’ वा ‘किराँत लिम्बूवान’ नामकरण गर्नुपर्ने माग हुँदै आएको थियो ।

२०८० बैशाख १७, आईतवार प्रकाशित 1 Minute 189 Views

ताजा समाचार