२०८१ बैशाख ८ शनिबार

ओलीको कार्यक्रममा प्रहरीमाथि ढुङ्गा हान्नेलाई मुद्दा दायर

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने दुई आन्दोलनकारीलाई मुद्दा दायर गरिएको छ ।

बुधवार झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित एमाले अध्यक्ष ओलीको कार्यक्रममा कोसी प्रदेश नामकरणको विरुद्धमा आन्दोलित पहिचानवादीहरूले आक्रमण गर्ने प्रयास गरेका थिए । एमाले अध्यक्ष ओली बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार्यक्रम स्थल नजिकै पहिचानवादीहरूले उनलाई कालो झन्डा देखाउँदै चर्का नाराबाजी गरेका थिए। उनीहरूले ओली सवार गाडीसमेत सडकमै रोक्न खोजेका थिए। एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने पहिचानवादीहरूले हानेको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल मावोहाङसहित दुई प्रहरी घाइते भएका थिए ।

प्रहरी निरीक्षक मावोहाङ र सहायक हवल्दार सोमित राजवंशी घाइते भएका हुन् । दुवैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक माबोहाङको टाउको फुटेको र प्रहरी सहायक हवल्दार राजवंशीको गालाको हड्डी भाँचिएको जनाइएको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मित्र लिङ्देन, पूरण राई (बुलेट किराँती) र बलिहाङ मावोमाथि मुद्दा दायर गरिएको हो । वारदातको प्रकृति हेर्दा उनीहरूमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दायर गर्नुपर्ने देखिएकोमा आन्दोलनकारीहरूले शान्तिपूर्ण आन्दोलन गर्ने बताएपछि लिङ्देन र राईमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । पक्राउ परेकाहरूलाई रिहाइ गर्न आन्दोलनकारीहरूले हिजोदेखि माग गर्दै आएका छन् । उनीहरूले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा गएर रिहाइ गर्न माग गर्दै नत्र थप आन्दोलनको कार्यक्रम गर्ने चेतावनी दिएका थिए । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीमाथि आक्रमणको प्रयास गर्दै प्रहरीलाई घाइते बनाउनेहरूलाई कडा कानुनी कारबाही गर्नुपर्ने राजनीतिक दलहरूले झापाको प्रहरी प्रशासनलाई दबाब दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका थिए । उनले अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट दिन नसक्ने बताएका थिए । प्रहरीले बल प्रयोग नगरी अगाडि बढ्न खोजेकालाई रोक्न खोज्दा आन्दोलनकारीहरूले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । आन्दोलनका नाममा आन्दोलनकारीहरूले आपराधिक गतिविधि गरेको उनको भनाई छ । ओलीलाई विरोध गर्न बुद्धशान्तिमा करिब तीन सयको सङ्ख्यामा पहिचानवादीहरू भेला भएका थिए ।कार्यक्रम स्थल बाहिर तनावग्रस्त बने पनि एमाले अध्यक्ष ओली कार्यक्रमलाई सम्बोधन गरी इलामतर्फ लागेका थिए ।

२०८० बैशाख १५, शुक्रबार प्रकाशित 0 Minutes 228 Views

ताजा समाचार