२०८१ बैशाख १४ शुक्रबार

धुलाबारीकी मधुदेवीले पूरा गरिन् १३ महिनाको कठोर तपस्या

मेचीनगर । मेचीनगर-१० निवासी ५६ वर्षीया मधुदेवी नाहटाले १३ महिनाको कठोर तपस्या (ब्रत) पूरा गरेकी छिन् । उनले धुलाबारीस्थित आफ्नै घरमै बसेर तपस्या पूरा गरेको जैन स्वेताम्बर तेरापन्थी सभा धुलाबारीका अध्यक्ष सुनिल जैनले जानकारी दिए ।

आध्यात्मिक कीर्तिमान स्थापित गर्दै नाहटाले लगभग ४ सय दिनसम्म प्रत्येक वैकल्पिक दिनको चौबिसै घण्टा निर्जल, निराहार, उपवास एवम् मौनव्रत विधि पूरा गरेकी हुन् । अक्षय तृतीयाको अवसरमा आइतबार (आज) मधुदेवीले उखुको जुस पिएर व्रत खोलेकी छिन् । जैन धर्मका प्रथम तीर्थन्कर भगवान ऋषभदेवले पनि १३ महिना निरन्तर तपस्या गरेका थिए । जैन समुदायले यो खालको तपस्यालाई संकल्पको रुपमा लिने गरेको पुनित वंशलले बताए ।

आइतबार धुलाबारीको अतिथि निवासमा आयोजना गरिएको कार्यक्रममा तपस्वी नाहटाबाट सहभागीले आशिर्वाद आदान प्रदान गरेको जैन स्वेताम्बर तेरापन्थी सभा धुलाबारीका पूर्व अध्यक्ष सम्पतराज चोरडियाले बताए । उनका अनुसार आइतबार (आज) नै भारतको गुजरातस्थित सुरतमा १ हजार १ सय ११ जनाले कठोर व्रत पूरा गरेका छन् ।

मेचीनगरको धुलाबारीमा ३० परिवार जैन समुदायका छन् । धुलाबारीमा जैन समुदायको संख्या १२० रहेको जैन स्वेताम्बर तेरापन्थी सभा धुलाबारीका सचिव मनोजकुमार बैगानीले बताए । कार्यक्रममा ओँकारेश्वर शिवालय गुरुकुल

मेचीनगर-१५ का प्राचार्य निरज खनाल, नेपाली कांग्रेस झापाका पूर्व उपसभापति राम कट्टेल, कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

२०८० बैशाख १०, आईतवार प्रकाशित 1 Minute 654 Views

ताजा समाचार